बिन्दु थापा
तानसेन, चैत १८ गते । उपहार दिन मिल्ने सामान उत्पादन हुन थालेपछि पाल्पाको ढाकाको व्यापार बढ्दैगएको छ । पहिले ढाका टोपी, चोली, पछेउरामा मात्र सीमित ढाका अहिले पर्स, टाई, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल साडीलगायतका कपडाहरू उत्पादन हुन थालका छन् ।
यसले उत्पादन र व्यापार बढेपछि कारोबारमा वृद्धि भएको ढाका सङ्घ पाल्पाका उपाध्यक्ष हरि रायमाझीले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकका कारण ढाका कपडाको कारोबारमा थप बृद्धि भएको हो । ‘उपहारका रूपमा लैजाने चलन अत्यधिक छ’, ढाका व्यवसायी कमला थापाले भन्नुभयो, ‘शैक्षिक भ्रमण गर्ने, पाल्पाका धार्मिकस्थलको अवलोकन गर्नेको सङ्ख्या दैनिक बढ्दै जाँदा ढाकाको कपडाको कारोबारमा वृद्धि हुन थालेको छ ।’
शैक्षिक भ्रमण गर्ने, पाल्पाका धार्मिकस्थलको अवलोकन गर्नेको सङ्ख्या दैनिक बढ्दै जाँदा ढाकाको कपडाको कारोबारमा वृद्धि हुन थालेको छ ।
पाल्पाली ढाका व्यवसायी थापाले वार्षिक १५ लाखको कारोबार गर्नेगरेको बताउनुभयो । जाडोयाममा बढी मात्रामा ढाकाको कपडाको कारोबार हुने गर्दछ । जिल्लामा १५ वटा ढाका उद्योग रहेका छन् । जसमा ९८ प्रतिशत महिला मजदुर छन् । उपाध्यक्ष रायमाझीका अनुसार ढाकाबाट १७ हजार ५ सय मिटर ढाकाको कपडा उत्पादन हुने गर्दछ ।
जसबाट आवश्यकताअनुसार कपडाहरू तयार गरिन्छ । रायमाझीले भन्नुभयो “जिल्लाको तानसेन, सँगै ग्रामीण क्षेत्रमा कसेनी, मदनपोखरा, कुसुमखोला, चिर्तुङ्धारा, बन्दीपोखरा र अर्गलीमा ढाका कपडा बुनिँदैआएको छ । जसबाट वार्षिक एक करोड बढीको उत्पादन र १० करोड बढीको कारोबार हुनेगर्छ”
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठका अनुसार ढाका कपडासम्बन्धी सीप विकास तालिम, नयाँ कारखाना स्थापना गर्ने तथा उद्यमी व्यवसायीलाई विभिन्न बैङ्कसँग समन्वय गरी ऋण सहयोग गरेको छ । कोभिड –१९ को अवस्था सहज बन्दैजाँदा कारखाना विस्तार हुँदैगएको र व्यापारमा वृद्धि हुदैगएको छ ।
जिल्लाका ग्रामीण क्षेत्रमा समेत ढाका कपडा बुन्ने र ढाकाको तयारी पोसाकसमेत उत्पादन हुन थालेको छ । ढाका कपडामा काम गर्ने महिलाले मासिक २० हजार रुपियाँसम्म आम्दानी गर्नेगरेका छन् ।
ढाका कपडा रुपन्देही, कपिलवस्तु, काठमाडौंलगायतका नेपालका अन्य जिल्लाहरू र विदेशमा निर्यात हुनेगरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा समेत ढाका कपडा बुन्ने र ढाकाको तयारी पोसाकसमेत उत्पादन हुन थालेको छ । ढाका कपडामा काम गर्ने महिलाले मासिक २० हजार रुपियाँसम्म आम्दानी गर्नेगरेका छन् । रोजगारबाट घरखर्च चलाउने, स्कुलको शुल्क बुझाउने र आफ्नो दैनिक खर्च चलाउने गरेको सरस्वती ढाका उद्योगमा काम गर्दै आउनुभएकी लक्ष्मी राना मगरले बताउनुभयो ।
पाल्पामा ढाका कपडाको व्यापार उत्साहजनक रूपमा बढेको पौडेल ढाका कपडा उद्योगका सञ्चालक मनोज पौडेल बताउनुभयो । उहाँले विशेषगरी चाडपर्व, विवाह, पास्नी, व्रतबन्धसँगै जाडोको समयमा ढाकाका कपडाको खोजी हुनेगरेको बताउनुभयो । पाल्पाली ढाकालाई ब्राण्डिङ गरेसँगै दौरा सुरुवाल लगाउने, साडी ब्लाउज लगाउने, कुर्ता लगाउने, पछ्यौरा ओडने, गलबन्दी बनाउने चलन बिस्तारै बढ्न थालेको छ । ‘बालबालिकालाई ढाकाको दौरा सुरुवाल बनाएर लगाइदिने चलन पनि बढ्दैगएको छ ।
पाल्पाली ढाकालाई ब्राण्डिङ गरेसँगै दौरा सुरुवाल लगाउने, साडी ब्लाउज लगाउने, कुर्ता लगाउने, पछ्यौरा ओडने, गलबन्दी बनाउने चलन बिस्तारै बढ्न थालेको छ ।
लुम्बिनी प्रदेश सरकारको ‘एक पालिका एक कोसेली’ कार्यक्रमअन्तर्गत तानसेन नगरपालिकाका समन्वयमा ढाका कपडा बिक्रीका लागि कोसेली घरको व्यवस्था गरिएको हो । बजारमा ढाकाको माग बढ्दो रहेकाले सङ्घले अबको दुई वर्षभित्र एक हजार ५ सय जनालाई सीप विकास तालिम दिने जनाएको छ ।
हाल यहाँका कारखानाबाट एक हजार बढीलाई प्रत्यक्ष रोजगार प्रदान गर्ने अवसर मिलेको छ । उद्योगमा काम गर्ने कामदारमध्ये ९८ प्रतिशत महिला रहेका छन् । यहाँ सञ्चालित उद्योगबाट महिलाले राम्रो रोजगार गर्ने अवसर पनि पाएका छन् ।