• १५ चैत २०८०, बिहिबार

तन्नेरीलाई शिरफुले भाका सिकाउँदै पाका पुस्ता

blog

शिर फुले भाकामा गीत गाउँदै मगर समुदायका पाका र युवापुस्ता । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, चैत १७ गते । कुनै समय शिर फुले भाकाले गाउँघर गुन्जायमान हुन्थे। मेलापात,गोठ ओडार र चौतारीमा भेला भएर शिर फुले मायाको भाकामा गीत गाउने र नाच्ने प्रचलन थियो । तर आजकल नयाँ लोक संस्कृतिको विकासले पुराना प्रचलित भाकाका गीतहरू लोप हुँदै जान थालेका छन् । 

यस्तै लोपोन्मुख शिर फुले भाकाको संरक्षणमा बेनी नगरपालिका ९ स्थित गलेश्वरमा बसोबास गर्नुहुने मगर समुदायका पाका र युवा पुस्ता जुट्न थालेका छन् । ‘‘शिर फुले भाका मगर समुदायको कला संस्कृति र पहिचान हो, उबेला गाउँघर शिर फुले भाकाले गुञ्जायमान हुन्थे । नयाँ लोकसंस्कृतिकाे विकाससँगै पुरानो ठेट भाकाहरु हराउन थाले,’’ गलेश्वरका धनिलाल गर्बुजाले भन्नुभयो, ‘‘शिर फुले भाका नयाँ पुस्तामा हस्तान्तरण गर्न र सिकाउन आवश्यक छ ।’’ 

शिर फुले भाकामा मादल बजाउँदै एक जनाले गीतका टुक्का झिक्ने र  महिला तथा पुरुषले लय मिलाएर छोप्ने गरिन्छ । यो निकै रमाइलो भाका भएको गर्बुजाले बताउनुभयो । भाका लोप हुन थालेपछि पाका र युवा पुस्ता मिलेर संरक्षण गर्न थालिएको उहाँले बताउनुभयो । नयाँ पुस्तालाई सिकाउन समय समयमा पाका र युवा पुस्ता सँगै बसेर शिर फुले माया भाका गाउने गरिएको चिम खोलाका डेकबहादुर पुनले बताउनुभयो । 

‘‘शिर फुले भाका मगर समुदायको प्रतिनिधित्व गर्ने कला र संस्कृति हो,’’पुनले भन्नुभयो, ‘‘शिर फुले भाका मौलिक छ । पहिला गाउँघरमा मेला पर्व र खेतबारीमा यो भाकाले गाउनै गुञ्जायमान हुने थियो ।’’ शिर फुले भाकाको गीत पहिलो पटक २०४२ सालमा रेडियो नेपालमा वरिष्ठ लोक दोहोरी गायिका धनकुमारी थापाले रेकर्ड गराउनुभएको थियो । पछिल्लो समय केही मात्रामा म्युजिक भिडियोहरू निर्माण हुन थालेका छन् । 

समाजमा भाकाको अस्तित्व बचाउन र नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुर्याउन चैते दसैँको अवसर पारेर गलेश्वरमा पाका र तन्नेरी पुस्ता सँगै भेला भएर शिर फुले भाकाको गीत गाएको उहाँले बताउनुभयो । परापूर्व कालमा मगर समुदायले मेलापात, मेला पर्व र चौतारीमा गाउने शिर फुले माया गीत आजकल सुनिन छाडेको छ । यो भाका लोपोन्मुख अवस्थामा रहेकोले सबै मिलेर संरक्षण गर्नुपर्ने नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष लोकेश पुन मगरले बताउनुभयो ।

 परापूर्व कालमा मगर समुदायका युवायुवतीहरू दिनमा मेला पात गरेर फर्किए पछि बेलुकीको खाना खाइ सकेर राती रमाइलोका लागि समयानुसार कहिले घरमै त कहिले गोठ, ओडार वा चौतारीमा जम्मा भई गाउने प्रचलन रहेको चिम खोलाका डेकबहादुर पुनले बताउनुभयो । 

शिर फुले भाकाका साथै मगर समुदायमा सालै जो, यानि माया, सुनिमाया, अभिजाले माया, झ्याउरे र चुट्का भाका लोकप्रिय छन् । म्याग्दी जिल्लाको ग्रामीण भेगहरूका मगर समुदायहरूमा धार्मिक कार्यमा बथानमा बसेर शिर फुले भाका गाउने प्रचलन छ ।