• १६ चैत २०८०, शुक्रबार

धमाधम रोपाइँ

blog

सल्यान समाचारदाता

सल्यान, चैत १७ गते । सल्यानमा चैतेधान रोपाइँ सुरु भएको छ। कालीमाटी गाउँपालिकाको शारदा खोला किनारमा पहिलेदेखि नै चैतेधान खेती हुँदै आए पनि अन्य पालिकामा पहिलो पटक चैतेधान रोपिएको हो। परीक्षणका रूपमा कुमाख गाउँपालिका–२, रागेचौरमा चैतेधान रोपिएको हो। जिल्लामा चैतेधानको सम्भाव्यता अध्ययनका लागि रागेचौरमा करिब तीन रोपनी खेतमा चैते–५ जातको धान रोपिएको छ। धान उत्पादनमा आत्मनिर्भर रहेको सल्यानमा निर्यातलाई मुख्य उद्देश्य राखेर परीक्षणका रूपमा पहिलो पटक चैतेधान रोपिएको हो। बर्खेधानभन्दा चैतेधानको उत्पादन २० देखि ३० प्रतिशतले बढी हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ सल्यानले जनाएको छ। 

कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेले पानी कम हुने, तटीय क्षेत्रलगायतका स्थानमा चैतेधान राम्रो उत्पादन हुने भएकाले जिल्लामा खेती विस्तार गर्न थालिएको बताउनुभयो। उहाँका अनुसार पर्याप्त पानीको अभावमा जमिन बाँझो राख्ने क्रमलाई रोक्न, खाद्य सुरक्षामा टेवा पु-याउन र चामल आयात प्रतिस्थापन गर्न चैतेधानको सम्भाव्यता अध्ययन भइरहेको छ। बर्खेधानको तुलनामा चैतेधानको उत्पादनसमेत बढी हुने र गहुँको तुलनामा राम्रो उत्पादन हुने भएकाले जिल्लामा चैतेधानलाई प्रवद्र्धन गर्न खोजिएको हो।

कुमाख गाउँपालिका–२ का किसान कुमारी बुढाथोकीले परीक्षणका रूपमा लगाएको चैतेधानको उत्पादन बर्खेधानको भन्दा बढी भए आगामी दिनमा गहुँको सट्टा चैतेधान नै लगाउने बताउनुभयो। उहाँले भन्नुभयो, “पहिलो पटक चैतेधान रोपिएको छ, तोरी लगाएर खाली भएको जग्गामा रोपेका छौँ, यो वर्ष कस्तो उत्पादन हुन्छ हेरौँ। राम्रो भयो भने अर्को वर्ष धेरै लगाउनु पर्ला।”

कुमाख गाउँपालिका–२, स्विकोटका वीरबहादुर बुढाथोकीले बाह्रै महिना सिँचाइको व्यवस्था भएकाले चैतेधान राम्रो हुन सक्ने बताउनुभयो। चैतेधान लगाउने किसानलाई ५० प्रतिशत अनुदानमा बिउ र निःशुल्क परामर्श सेवा दिने कार्यालयले जनाएको छ। सल्यानको कालीमाटी गाउँपालिका काल्चे आसपासका किसानले भने शारदा खोला किनारमा रहेको खेतीयोग्य जमिनमा चैतेधान खेती गर्दै आएका छन्। किसान समूह महासङ्घका केन्द्रीय सदस्य तथा अगुवा किसान शारदा नगरपालिका–१ का नवीन भडेलले जिल्लाका वनगाड खोला, दार्माखोला, सङ्ग्रही खोलामा पनि चैतेधानको परीक्षण गर्नुपर्ने बताउनुभयो। 

चैतेधान लगाउन कुमाख गाउँपालिकामा मात्र ६० किसान समूह गठन गरिएको छ। यो वर्ष १५ रोपनी जग्गामा धान लगाउने योजना छ। परीक्षण सफल भए कुमाख गाउँपालिकाको मर्मखोलाको आसपासमा भएका खेतीयोग्य जग्गामा दुई बाली धान लगाउन सकिनेछ। चैतेधान परीक्षणका लागि जिल्लाको शारदा नगरपालिका–१ को शारदा नदी आसपासको जग्गा पनि छनोट गरिएको र केही दिनभित्र धान रोपिने परियोजनाले जनाएको छ। धान उत्पादनबाटै जिल्लावासी आत्मनिर्भर हुन सक्ने र दुई बाली धान लगाउँदा बढी भएको खाद्यान्न बाहिर बिक्री गर्न सकिने भएकाले चैतेधानको परीक्षण चलिरहेको परियोजनाले जनाएको छ।