• ७ वैशाख २०८१, शुक्रबार

पत्ता लाग्दैनन् क्षयरोगका बिरामी

blog

चरीकोट समाचारदाता

चरीकोट, चैत १७ गते ।  दोलखामा शङ्कास्पद क्षयरोगीमध्ये ५० प्रतिशत बिरामी पत्ता लगाउन नसकिएको पाइएको छ। रोग पत्ता लगाउन नसकेकै कारण जिल्लामा दिनानुदिन क्षयरोगको बिरामी बढ्दै गएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक प्रतिवेदनअनुसार दोलखामा क्षयरोगका ४८ जना नयाँ बिरामी फेलापरेका छन्। क्षयरोगकै कारण हालसम्म मृत्यु नभए पनि क्षयरोगीको भने बढ्दो अवस्थामा छ। 

स्वास्थ्य कार्यालय दोलखाद्वारा यहाँ आयोजित क्षयरोग दिवसका अवसरमा पत्रकार एवं सरोकारवाला निकायसँगको अन्तक्र्रियामा स्थानीय तहमध्ये सबैभन्दा बढी क्षयरोगका बिरामी भीमेश्वर नगरपालिका र जिरी नगरपालिकामा भेटिएको जानकारी गराइएको थियो। चालु आवको गत साउनदेखि फागुनसम्ममा भीमेश्वर नगरपालिकामा १७, जिरी नगरपालिकामा १२, शैलुङ गाउँपालिकामा आठ, मेलुङ गाउँपालिकामा सात जना बिरामी सम्पर्कमा आएका छन्। 

त्यसैगरी तामाकोशी गाउँपालिकामा छ जना, कालिञ्चोक गाउँपालिकामा पाँच, बिगु गाउँपालिकामा तीन, वैतेश्वर गाउँपालिकामा दुई र गौरीशङ्कर गाउँपालिकामा एकजना क्षयरोगका बिरामी सम्पर्कमा आएको स्वास्थ्य कार्यालय दोलखाका कार्यालय प्रमुख उत्तमराज खनालले बताउनुभयो। यसरी क्षयरोगका बिरामी बढ्नुमा सम्पर्कमा आएका बिरामीलाई कार्यक्रमको दायरामा ल्याउन नसक्नु पनि एक कारण रहेको उहाँको भनाइ छ। त्यस्तै जनचेतना फैलाउन नसक्नुलगायत क्षयरोग बढ्नुका कारण रहेको प्रमुख खनालले बताउनुभयो। अर्धवार्षिक प्रतिवेदनअनुसार जिल्लामा ५६ प्रतिशत अर्थात् २३ जना खकार जाँचबाट क्षयरोग देखिएका, ११ प्रतिशत अर्थात् पाँच जना फोक्सोको एक्स–रे गर्दा देखिएका र बाँकी ३३ प्रतिशत अर्थात् २० जना फोक्सोबाहेक शरीरको अन्य भागमा क्षयरोग भएका बिरामी रहेका जनस्वास्थ्य अधिकृत दीपिका बुढाथोकीले जानकारी दिनुभयो। नेपालमा यस रोगबाट मृत्यु हुने दर बर्सेनि ३ प्रतिशत रहेको कार्यक्रममा जानकारी गराइएको थियो।