• १३ वैशाख २०८२, शनिबार

स्वर्णिम वाग्ले कांग्रेसबाट अलग

blog

स्वर्णिम वाग्ले ।

काठमाडौं, चैत १६ गते। स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गर्नुभएको छ। बिहीबार दिउँसो १० वर्षदेखि नेपाली कांग्रेसको आर्थिक नीति, योजना, बौद्धिक सैद्धान्तिक विमर्श र प्रशिक्षण एवम् अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको सम्झना गर्दै वाग्लेले पार्टी छोडेको घोषणा गर्नुभएको हो। वाग्लेलाई कांग्रेसले तनहुँ १ मा हुने उपनिर्वाचनमा उम्मेदवार नबनाएपछि असन्तुष्ट भएर सामाजिक सञ्जालमा पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो। 

‘‘२०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु’’, वाग्लेले फेसबुकमा लेख्नुभएको छ। 

उहाँले अब सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेसमेत बताउनुभएको छ। उहाँले फेसबुकमा थप लेख्नुभएको छ, ‘‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो।’