• १२ असोज २०८१, शनिबार

घरमै नागरिकता पाउँदा खुसी

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत १६ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले अशक्त तथा अपाङ्ग व्यक्तिहरूलाई घरमै पुगी नागरिकता वितरण गर्दैआएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –६ का जन्मजात अपाङ्गता रहनुभएका २८ वर्षीय सुरेन्द्र थापालाई उहाँको निवासमै पुगी नागरिकता वितरण गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले थापाको घरमा नै पुगेर नागरिकता वितरण गर्नुभयो । त्यस क्रममा प्रमुख अधिकारी पाठकले जिल्लाका अन्य स्थानमा पनि नागरिकता प्राप्त गर्न वञ्चित भएकालाई प्रशासनको पहुँचमा ल्याउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “नागरिकता प्राप्त गर्नबाट वञ्चित भए प्रशासनको पहुँचमा ल्याउन आग्रह गर्दछु । अशक्त र अपाङ्गता भएकाको अभिभावकले आवश्यक कागजात जिल्ला प्रशासनमा ल्याएर पेस गरेपछि समय मिलाएर घरमै गएर नागरिकता वितरण गर्छौँ ।” 

पछिल्ला केही वर्ष यता जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएका तथा अशक्त अवस्थामा रहेका नागरिकलाई नागरिकताको अभावमा राज्यबाट प्राप्त हुने सेवा–सुविधा तथा अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उहाँहरूको घरमै पुगी वितरण गर्दैआएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो । 

त्यस्तै, वडाअध्यक्ष कृष्णबहादुर नेपालीले आफूहरूले वडाका कुना–कुनामा गएर सेवा प्रवाह गर्नेगरेको बताउनुभयो । नागरिकता प्राप्तिका लागि आवश्यक सहजीकरण समेत गर्ने गरिएको बताउनुभयो । दुई दशकदेखि सुरेन्द्रले कडा नशाको औषधि सेवन गर्दैआउनुभएको छ । 

वि.स. २०५१ मा जन्मिनुभएका थापा दश बाह्र वर्षदेखि नागरिकताविहीन हुनुहुन्थ्यो । शारीरिक अपाङ्गता भएका कारण यातायातमा आउजाउको समस्या भएपछि नागरिकता नबनाएको आमा राधिका थापाले बताउनुभयो । घरमै आएर नागरिकता दिएपछि आफूलाई निकै सहजता भएको उहाँको भनाइ छ । सुरेन्द्र “क” वर्गको अपाङ्ग हुनुहुन्छ ।