• १३ वैशाख २०८१, बिहिबार

मुख्यमन्त्रीसँग अमेरिकाका राजदूतको भेट

blog

मुख्यमन्त्रीसँग संयुक्त राज्य अमेरिकाका राजदूतको भेट । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
जनकपुर, चैत १६ गते । 
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन थोम्पसनले बिहीबार भेटवार्ता गर्नुभएको छ ।

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले मधेश प्रदेशका शिक्षा, स्वास्थ्य र कृषिलाई प्रमुख प्राथमिकतामा राखेर मिलेर काम गर्न आग्रह गर्नुभयो । प्रदेशमा कृषिका लागि सिँचाइ, रासायनिक मलको उद्योग आवश्यक रहेको उहाँले सुझाउनु भएको थियो ।

सङ्घीयताको पाँच वर्ष पूरा भएको भन्नुहुँदै मुख्यमन्त्री यादवले अमेरिका सरकार मधेश प्रदेश सरकारसँग विकासमा साझेदारी गर्न तयार रहेको सुन्दा खुसी लागेको बताउनुभयो । 


भेटमा मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले प्रदेशको जनसङ्ख्या आधारमा बजेट विनियोजन नहुँदा विकास कार्य गर्न गाह्रो रहेको अवगत गराउनुभएको थियो । उहाँले भन्नुभयो, ‘‘नीति निर्माणमै त्रुटि रहेको छ । जसको कारण जनसङ्ख्यायीक विकास गर्न गाह्रो हुन्छ ।’’

भेटघाटमा आएको सुझावमा संयुक्त राज्य अमेरिकाका राजदूत थोम्पसनले नेपाल–अमेरिकाबीचको सम्बन्ध ७५ औँ वर्ष पूरा गर्दा उत्साहजनक रहेको बताउनुभयो । नेपाल भनेको काठमाडौं मात्र नभएको उहाँले भन्नुभयो, ‘‘मधेशमा बढीभन्दा बढी कसरी सहयोग हुन सक्छ, त्यही उद्देश्य लिएर यहाँ आएको छौँ ।’’

मधेश प्रदेशको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन लगायतको क्षेत्रमा सहयोग गर्न तयार रहेको उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘‘मानव संशोधन शाखाले रोजगारमा कसरी सहयोग गर्न सक्छ, हामी सोचिरहेका छौँ ।’’

युएसआइडीका प्रतिनिधिले प्रदेशमा समुदायमा आधारित कार्यक्रमहरू सञ्चालनमा रहेको जानकारी गराउँदै अब सिँधै प्रदेश सरकार र स्थानीय सरकारमार्फत कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो  । यस कार्यक्रमलाई परिमार्जन गरी प्रदेशभरि रोजगारमा सहभागी गराउने बनाउनु पर्ने बताउनुभएको थियो ।