काठमाडौँको धोबीधाराको गल्ली छिचोलेर केही अघि बढ्नासाथ भेटिनुहुन्थ्यो उहाँ आफ्नै घरमा । एक दशकपछि त्यही घरछेउ पुगेर सोधखोज गर्दा छाँगाबाट खसेजस्तै भएँ । ओ हो कहिले ? भन्दै फर्कन मात्र लागेको थिएँ, अर्को अपरिचितको आवाज सुनियो– कसलाई खोज्नुभएको ? तपाईंले भेट्न खोज्नुभएको मान्छे तगडै हुनुहुन्छ । १० वर्षजति भयो छोराबुहारी सबै बूढानीलकण्ठ सर्नुभएको छ । बूढानीलकण्ठतिर लम्किएका पाइला उहाँको आँगन टेक्दा मैले खोजेको मान्छे र एकैछिनका लागि यो संसार छाडिसक्नुभएका ९३ वर्षीय श्रद्धेय व्यक्तित्व आफ्नै आँगनमा हिँडिरहनुभएको थियो । हरे ! मान्छे अर्काको मृत्युको बारेमा कति सहजै बोलिदिन्छन् । लाग्छ साहित्य क्षेत्रमा पनि उहाँ यतिखेर धेरैका लागि अपरिचित, अत्तोपत्तो नभएको व्यक्तिकै रूपमा रहनुभएको छ ।
आफ्नै पुरानो छिमेकी, साथीभाइ र साहित्यिक जमातबाट समेत अत्तोपत्तो नभएर बाँचिरहनुभएका उहाँ बढ्दो उमेरलाई चटक्क बिर्सिएजस्तै जीवन बाँचिरहनुभएको छ । उमेर बढ्दै गए पनि स्वभाव उस्तै छ उहाँको । कथा र कविता विधामा दुई दशकमा दुईवटा कृति दिएर टाढिएको ४५ वर्ष भइसक्दा पनि अझै लेखनमा फर्कौं भन्ने सोचसम्म छैन । लागेको र देखेको कुरा भन्न कुनै साइत नै पर्खनु पर्दैन उहाँलाई । आफ्नै घरको आँगनमा ओहोर दोहोर गरेर हिँडिरहनुभएको थियो । शरीर स्वस्थ राख्न सधैँ हिँडने गर्छु भन्दै संवाद थालेपछि कुमार नेपालले विश्राम लिनुभएन । शास्त्रदेखि शस्त्रसम्म, धर्मदेखि कर्मसम्म, इतिहासदेखि वर्तमानसम्म, साहित्य, कला, संस्कृति, व्यक्तिविशेष हरेक कुरामा उत्तिकै बोल्न सक्ने, बोलेर नथाक्ने ।
टाढिनु मान्छेको स्वभाव होइन, झन् उहाँको त हुँदै होइन । उहाँको स्वभावैले यसो भन्छ । वातावरण नै यस्तो बनिदियो कि कुमार नेपालका लागि लेख्नु नलेख्नु बराबरैजस्तो भयो । लेखे पनि वास्ता छैन, नलेखे पनि वास्ता छैन । लेखेर मात्र बाँच्न सकिँदो रहेनछ, नलेख्दा पनि बाँच्न सकिँदोरहेछ । त्यसो भए लेख्नुको अर्थ नै के रह्यो र ? यस्तै भावनाले हुनुपर्छ वि.सं. २०३४ पछि उहाँले साहित्य लेखन चटक्कै छोडिदिनुभयो । लेख्न आवश्यक ठान्नुभयो लेख्नु भयो, लेख्न आवश्यक देख्नुभएन लेख्न छाड्नुभयो । तर साहित्यप्रतिको चासो र प्रेम भने यथावत् छ । कलम नचले पनि साहित्य र साहित्यकारका बारेमा चासो भने छ ।
कुमार नेपालको नाम नयाँ पुस्ताका लागि नौलो लाग्नसक्छ र अघिल्ला पुस्ताका लागि कतै सुनेको, कतै पढेको जस्तो मात्र पनि लाग्न सक्ला । कतिका लागि त यो नाम त्यति चासोको विषय पनि नबन्ला । तर साहित्यमा सामान्य अध्ययन गर्नेका लागि कुमार नेपाल नेपाली कथा र कवितामा नाम कमाएको स्रष्टा हो । यतिखेर उहाँ काठमाडौँको चपलीमा बसेर पनि साहित्यबाट टाढिनु भएको छ । साहित्यको यही दुरवस्था, यही प्रवृत्तिलाई पहिले नै चिनेर होला उहाँ टाढिनुभयो । टाढिएको मान्छेलाई नजिक ल्याउने जमर्को समेत कसैले गरेनन् र हेर्दाहेर्दै इतिहासमा एउटा पात्रलाई जानीजानी बिर्सिदिने, पन्छाइदिने काम भयो । साहित्य लेखन र साहित्यिक जमातबाटै टाढिनुभएका कुमार नेपाल लेखन र सिर्जनालाई हल्का रूपमा लिन नहुने धारणा राख्नुहुन्छ । ११ वर्षअघि जीवनसङ्गिनीको निधन भएपछि जीवन बाँचिरहनुभएको छ ।
वि.सं २०१५ बाट लेख्न थालेको मान्छे दुई दशकको अवधिमै साहित्यमा सक्रिय र चर्चित बन्नुभयो । २५ वर्षका नेपाली कथा २०३९ (सं. दयाराम श्रेष्ठ), अठ्ठाइस कथा २०३९ (सं. वासु रिमाल यात्री) समसामयिक साझा कथा २०४१ (सं. मोहनराज शर्मा, राजेन्द्र सुवेदी) चर्चित नेपाली यौन कथा, भाग १, २०६८ (सं. किरण रिमाल) आदि कैयौँ कृतिमा कथा समेटिने कुमार नेपालका बारेमा धेरैले कलम चलाइसकेका छन् । रिमालले आफ्नो पुस्तकको सम्पादकीयमा लेखेका छन्– फ्रायडेली यौन मनोविज्ञानलाई आधार बनाएर कथा लेख्ने कथाकारको सूचीमा कथाकार कुमार नेपालको नाम अग्रपङ्क्तिमा आउँछ । उनका कथाहरू मानव यौन र मनोविज्ञानलाई सूक्ष्म रूपले केलाएर विश्लेषण गरिएको छ ।
वि.सं. १९८७ भदौमा काठमाडौँको मखनमा जन्मिनुभएका कुमार नेपालले सरकारी सेवामा १८ वर्षको समय प्रदान गर्नुभयो । सरकारी जागिर खानेबखत प्राविधिक कारणले वि.सं १९९० साल जन्म उल्लेख गरे पनि वि.सं. १९८७ सालमा जन्म भएको उहाँ बताउनुहुन्छ । वि.सं. २०१९ सालमा पहिलो कृतिका रूपमा चर्केको पर्खाल (कविता सङ्ग्रह) प्रकाशमा ल्याएलगत्तै २०२० मा उहाँको दोस्रो कृतिका रूपमा तुवाँलोको कत्ला कथा सङ्ग्रह प्रकाशमा आयो । कविता र कथामा उत्तिकै कलम चलाए पनि कुमार नेपालको ख्याति कथामै बढी रह्यो । रूपरेखामा २०१९ सालमा पहिलो कथा परिचयको अन्तिम संस्कारपछि छापिएपछि नै कथा साहित्यमा उहाँको उपस्थिति दह्रो रहेको विचार मोहनराज शर्मा र राजेन्द्र सुवेदीले समसामयिक साझा कथामा उल्लेख गरिसक्नुभएको छ । कथा र कवितामा नाम कमाए पनि मानव अधिकारसम्बन्धी लेखन र जीवनी लेखनबाट पुरस्कार जित्ने कुमार नेपालले दुईवटै (साहित्यिक) कृतिबाट लेखनमा पूर्णविराम लगाइदिनुभयो । ९३ वर्षको उमेर छोइसक्दा पनि साहित्य र साहित्यिक वातावरणबाट उहाँ त्यति सन्तुष्ट हुनुहुन्न । कसका लागि लेख्ने ? लेखेर के भयो र नलेख्दा के हुन्छ ? महाकवि देवकोटाले लेखेर के पाए ? लेखेर कसलाई सम्झेको छ राज्यले । निजी क्षेत्रका पुरस्कार–सम्मानले सम्झनुबाहेक राज्यले त्यति चासो नदिने ठाउँमा लेख्नुको अर्थ छैन । मैले लेखेको कुरा मेरो छोरो विदेशबाट आउँदा यसो पल्टाउला नातिनातिनीलाई त त्यति पनि रुचि छैन ।
झन्डै सात दशकअघि वैवाहिक जीवनमा बाँधिएकी आफ्नी पत्नीको ११ वर्षअघि निधन भएपछि एक्लिएको महसुस गर्ने कुमार नेपाल यतिखेर स्मृति सँगालेर बस्नुभएको छ । विगत सम्झेर बस्नुभएको छ, आउँदा दिनमा केही होला र केही गरौँला लेखौँला भन्ने छनकसमेत छैन उहाँमा । लेखेर राखेका, छापिएका तर सङ्ग्रहमा नपरेका रचना समेटेर किताब निकाल्ने रुचि पनि छैन । कुराकानी गर्न र भेट्न गएकासँग खुलेर कुरा गर्न रुचाउने कुमार नेपालले लामो कुराकानीका क्रममा शारदामा प्रकाशित आफ्नो एउटा कविता सुनाउँदै भन्नुभयो, हेर्नूस् त त्यतिबेला लेखेको कविता अहिले पनि सान्दर्भिक लाग्छ–
मेरो थाङ्नो यता तु-यो उता फुस्किन्छ उता तु-यो यता फुस्किन्छ यसको बानी नै यस्तो छ त्यो मञ्चबाट बोल्ने नेताको जस्तो ।
नेपालीमा एमए गरेर १८ वर्ष सरकारी जागिर खाएर केही समय निजी व्यवसाय पनि गर्नुभयो । लेखन यात्रा कविताबाटै सुरु भयो । जीवनको उत्तराद्र्ध आइपुगेपछि उहाँलाई अचेल कविता लेखूँलेखूँ लाग्न थालेको छ तर आँखा कमजोर भएकाले चाहेर पनि लेख्न सक्नुभएको छैन । साहित्य पढ्नेहरूको अभाव देख्दा लेख्नुको तुक देख्नुहुन्न उहाँ । लेख्नेहरूले पनि नबुझीकन लेख्नका लागि मात्र लेखिरहेका छन्, अध्ययन पटक्कै छैन, कपीपेस्टमा रमेका छन् भन्दै साहित्य क्षेत्रप्रतिको असन्तुष्टि पोख्नुहुन्छ उहाँ । सन्तोष असन्तोष जे भए पनि नेपाली साहित्यमा कलम चलाएर चर्चित बनिसक्नुभएका कुमार नेपालजस्ता स्रष्टाले फेरि कलम चलाइदिएनुभयो भने पाठकले उहिलेका नाम चलेका स्रष्टाको अरू रचना पढ्न पाउँथे, यो हाम्रो इच्छा हो । मानव अधिकारसम्बन्धी लेखनमा वि.सं २०४० मा महेन्द्र वीरविक्रम शाह स्मारक निधि पुरस्कार र २०४३ मा वैज्ञानिकहरूको जीवनी लेखेबापत रोनास्टबाट पुरस्कृत हुने कुमार नेपाल कविको रूपमा, कथाकारका रूपमा भने पुरस्कृत हुनुभएको छैन ।
हाम्रो साहित्य ज्यादा माथि पुगेको, ज्यादा तल खसेको छ भन्ने यी दुवै कुरा सञ्चारमा खाल्डाखुल्डी परेकाले प्रस्ट नभएको हो । साहित्यमा प्रगति भनेर नाप्ने केले ? समयको गतिलाई सेकेन्ड, मिनेट र घण्टामा नापेजस्तो साहित्यको गतिलाई नाप्ने के छ हामीसँग कसी ? ३६ वर्षअघि उहाँले दिनुभएको अभिव्यक्ति हो यो । लेखनबाट टाढिनुभएका उहाँ प्रचार पनि रुचाउनुहुन्न र प्रचारको कुनै अर्थ पनि भेट्नुहुन्न । आफ्नो समयमा सक्दो योगदान दिएर चर्चाको शिखरमा पुग्ने उहाँजस्ता स्रष्टालाई सम्झने र चासो राख्नेसम्म पाउन हम्मे पर्ने माटोमा बसेर लेख्नुको खासै अर्थ पनि छैन । लेखेर योगदान दिएकाहरूभन्दा नलेखीकन चर्चामा आउनेहरूको भीडमा कुमार नेपालहरू अचेल हराउन थालेका छन्, ओझल पर्न थालेका छन् । इतिहासको पाना पल्टाउने र लिपिबद्ध सिर्जनाले कुमार नेपाल बिर्सन नहुने नाम हो ।