• १२ असोज २०८१, शनिबार

सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्न सकेन : अध्यक्ष ओली

blog

रुपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओली । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, चैत १५ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान गठबन्धन सरकारले मुलुकको अर्थतन्त्र सुधार्ने काम गर्न नसकेको बताउनुभएको छ । 

मिसन ग्रासरुट अभियान अन्तर्गत बुधबार रुपन्देहीको तिलोत्तमामा भएको पार्टीको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । गठबन्धन सरकार बनेदेखि मुलुकको आर्थिक अवस्था कमजोर बन्दैगएको उहाँले टिप्पणी गर्नुभयो ।

पछिल्लो समय मुलुकको अर्थतन्त्र ध्वस्त हुँदैगएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “पछिल्लो समय राजश्व संकलन निकै कमजोर छ, विदेशी मुद्राको सञ्चिती छैन, बैंकमा पैसा छैन, मुलुकमा मुद्राको अभाव छ ।”


वर्तमान सरकारसँग मुलुक बनाउने स्पष्ट नीति नभएको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले देश बनाउने संकल्प सरकार र गठबन्धन दलसँग नरहेको आरोप लगाउनुभयो । आफूलाई कम्युनिष्ट भन्ने दल पनि पूँजीवादीको पछि लागेको उहाँको टिप्पणी छ ।

कम्युनिष्ट पार्टी फुटाएर पूँजीवादीको पुच्छर बन्ने दलहरु जनतामा भ्रम छर्ने काम गरिरहेको उहाँले आरोप लगाउनुभयो । देश बनाउने संकल्प र योजना एमालेसँग मात्र रहेको उहाँले दावी गर्नुभयो ।