• २२ असार २०८१, शनिबार

भयरहित वातावरणमा एसईई परीक्षा सञ्चालन हुन्छ : शिक्षामन्त्री यादव

blog

पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादव। तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, चैत १५ गते। मधेश प्रदेश सरकारका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले यस वर्षको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभएको छ। 

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले एसईई परीक्षा अनुशासित, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला सम्पूर्ण निकायलाई निर्देशनसहित तयारी पूरा भएको बताउनु भएको छ। 

उहाँले समुदायमा शिक्षाको समग्र विकास र सुधारका लागि परीक्षा प्रणालीले पनि महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा यसपालिको एसईई परीक्षा विगतको भन्दा अनुशासित, मर्यादित र भयरहित वातावरण सञ्चालन हुने दाबी गर्नुभयो।

प्रदेशमा विगतका एसईई परीक्षाप्रति आएका गुनासालाई पन्छाउन परीक्षालाई व्यवस्थित बनाउन मन्त्री यादवले स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई समेत आग्रह गर्नुभएको छ। मन्त्रीले परीक्षामा सहज वातावरण सिर्जना गर्न तीनवटै सुरक्षा निकाय लगायत सरोकारवालासँग अनुरोध गर्नुभयो।

प्रदेशका २७९ परीक्षा केन्द्रमार्फत् ७९ हजार ९४ जना परीक्षार्थी सहभागी हुने उहाँले जानकारी दिनुभयो। परीक्षाका लागि २७९ केन्द्राध्यक्ष, ५२८ सहायक केन्द्राध्यक्ष, ७९६ परीक्षा सहायक, चार हजार ६९ जना निरीक्षक, एक हजार ६२८ कार्यालय सहायक गरेर सात हजार ५७९ कर्मचारी र तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिने मन्त्री यादवले बताउनुभयो।