गोरखापत्र अनलाइन
काठमाडौं, चैत १५ गते । रिपोर्टर्स क्लब नेपालले यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ नेपाल प्रेस डट कमका प्रधान सम्पादक मात्रिका पौडेललाई दिने निर्णय गरेको छ । क्लबको पुरस्कार छनौट समितिको आज बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।
क्लब नेपालले हरेक वर्ष प्रदान गर्दैआएको सो पुरस्कार क्लबको चैत १७ गते काठमाडौंमा हुने २५ औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो पुरस्कार प्रदान गर्नुहुनेछ ।
पुरस्कारको राशी नगद एक लाख रुपियाँ रहेको छ । पौडेल विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । पत्रकारितामा आफ्नो क्षमता र कुशलता प्रदर्शन गर्दैआएका पौडेलले व्यावसायिक पत्रकारिताको संस्थागत विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर पत्रकार पौडेलले चीन, अमेरिका, जापान, कोरिया, फ्रान्स, डेनमार्क, बेल्जियम, नर्वे, फिनल्याण्ड, जर्मन, मलेसिया, हङकङ र भारतको भ्रमण गर्नुभएको छ ।
पत्रकार पौडेलले यसअघि सञ्चारमन्त्री शेरधन राईको प्रेस सल्लाहकारको भूमिका पनि निर्वाह गरिसक्नुभएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रहिसक्नुभएका उहाँ संसदीय मामिला पत्रकार समाजको पूर्व उपाध्यक्षसमेत हुनुहुन्छ । पौडेल २०५४ साल बैशाख ४ गतेबाट पत्रकारिता सुरु गर्नुभएको हो ।