• १३ असोज २०८१, आइतबार

सरकारले संसद्लाई महत्त्व दिनुपर्छ : रघुजी पन्त

blog

बुधबारको प्रतिनिधि सभाका बैठकमा धारणा राख्नुहुँदै प्रतिनिधि सभा सदस्य रघुजी पन्त ।

काठमाडौं, चैत १५ गते। प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारको गतिहीनताले समग्र सांसदमाथि प्रश्न उठेको बताउनुभएको छ।

बुधबारको प्रतिनिधि सभा बैठकमा धारणा राख्नुहुँदै प्रतिनिधि सभा सदस्य पन्तले सरकारले प्रतिनिधि सभा बैठकमा विधेयक पेस गर्ने विषयलाई महत्त्व नदिएको बताउनु भएको हो। 

प्रधानमन्त्री स्वयं संसद् बैठकमा उपस्थित हुँदा उहाँले पेस गर्ने विधेयक अन्य मन्त्रीले पेस गरेको भन्दै त्यसको विरोध गर्नुभएको छ। उहाँले प्रधानमन्त्री र मन्त्रीले संसद्लाई महत्त्व नदिएको आरोप लगाउनुभएको हो। 

उहाँले सरकारको कारणले संसद् प्रभावकारी हुन नसकेको भन्दै त्यसको दोष सम्पूर्ण सांसदलाई लागेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘यहाँ प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने विधेयकमा अर्को मन्त्रीको नाममा हुन्छ। मन्त्रीको महत्त्वपूर्ण काम भनेको आफूले सञ्चालन गर्ने मन्त्रालयसँग सम्बन्धित विधेयक संसदमा पेस गर्ने हो। त्यो भन्दा कुनै महत्त्वपूर्ण काम हुन्छ ? हुँदैन। सभामुख महोदय यति महत्त्वपूर्ण कामलाई उहाँले छोडेर उहाँ कहाँ जानुभयो थाहा छैन। मन्त्रीले संसद्को गरिमा बढाउन कति काम गरेका छन् ? यो गम्भीर सवाल छ।’’

सरकार र मन्त्रीले संसद्लाई बेवास्ता गर्दा संसदमा गतिहीनता बढेको उहाँको भनाइ छ।