• १३ असोज २०८१, आइतबार

नागरिकता कानुन टेबल गर्न सरकारको ध्यानाकर्षण

blog

बुधबारको प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै प्रतिनिधि सभा सदस्य गगनकुमार थापा । तस्बिर : केशब गुरुङ

काठमाडौं, चैत १५ गते। प्रतिनिधि सभा सदस्य गगन थापाले नागरिकता सम्बन्धी कानुन संसद्को यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । बुधबारको प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले भन्नुभयो, ‘‘हाम्रो बीचमा समझदारी भइसकेको जन्मसिद्धका सन्तानले संविधानतः नागरिकता पाउनुपर्ने कुरालाई कार्यान्वयन गर्न आमाको नाममा नागरिकता पाउनुपर्ने विषयलाई कार्यान्वयन गर्ने सन्दर्भ जसमा हामी एकमत छौँ। ती विषयलाई मात्र समेटेर भए पनि सरकारलाई अविलम्ब संसदबाट पारित गर्ने गरी नागरिकता सम्बन्धी कानुन यही सदनमा, यही सत्रमा टेबल गर्नका लागि म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’’

उहाँले राजनीतिक दलका बीचमा सहमति भइसकेका विषयलाई समेटेर नेपाली बाबुआमा बाट जन्मिएका सन्तानलाई नागरिकता दिनुपर्ने बताउनुभयो। प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड सरकार भएको बताउनुभएको छ। 

बुधबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड साहु नभएर सरकार भएको बताउनुभएको हो। उहाँले सरकारले देशलाई अस्तव्यस्त बनाएर शासन गर्न खोजेको बताउनुभयो। उहाँले सरकारले गरिबी र अशिक्षामाथि शासन गर्न खोजेको बताउनुभयो। सिंहले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरेर तीन प्रकारको ब्याज रहेको टिप्पणी गर्नुभयो। 

प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले नुवाकोटको मेकाङ भन्ने ठाउँमा राष्ट्रिय तामाङ सङ्ग्रहालय बनाउन माग गर्नुभयो।

प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीले देशमा व्यापारीलाई व्यापार घाटा भइरहेको बेलामा बैङ्कले भने मुनाफा कमाइरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।

प्रतिनिधि सभा सदस्य असीम शाहले एक महिनादेखि मन्त्रालय मन्त्रीविहीन भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले नेताले गरिरहेको भागबन्डालाई जनताले नियालीरहेको उल्लेख गर्नुभयो। त्यस्तै उहाँले १ मिनेट शून्य समय अपुग भएको भन्दै शून्य समयलाई २ मिनेट पुर्‍याउन माग गर्नुभयो।

प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले सरकारले बूढीगण्डकी जलविद्युत आयोजनामा ठूलो रकम रकमान्तर गरेर योजनालाई नै अन्योलतर्फ धकेल्ने काम गरेको बताउनुभयो। उहाँले सरकारले आयोजनालाई असफल बनाउन लागेको आरोप लगाउनुभयो। उहाँले रकमान्तर फिर्ता गर्न अनुरोध गर्नुभयो।

प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले सामुदायिक विद्यालयमा दिने खाजा भत्ता वृद्धि गर्न माग गर्नुभयो।