• १३ असोज २०८१, आइतबार

मिटरब्याज आर्थिक अपराध हो : प्रदीप पौडेल

blog

प्रतिनिधि सभा सदस्य प्रदीप पौडेल ।

काठमाडौं, चैत १५ गते। प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मिटरब्याज आर्थिक अपराध मात्रै नभई सामाजिक अपराध भएको बताउनु भएको छ। बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले मिटरब्याजीले कानुनी राज्यको उपहास गरिरहेको भन्दै त्यस्तो क्रियाकलाप स्वीकार्य नहुने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘मिटरब्याज आर्थिक अपराध मात्र होइन, यो विषय सामाजिक अपराध हो। पहिलो त यो सरासर कानुन उल्लङ्घन गरेर आम विपन्न जनताको अभाव र कानुनी ज्ञानको पहुँचबिहीनतालाई दुरुपयोग गर्नु कानुनी राज्यको उपहास हो। यो कुनै पनि न्यायपूर्ण समाजमा स्वीकार्य हुन सक्दैन। मिटरब्याज अन्य दर्जनौँ सामाजिक अपराधको कारणसमेत हो। पीडित मिटरब्याज साहुकै योजनामा लागू औषध कारोबार गरेर जेलमा परेका विषय सार्वजनिक भएका छन्। महिलालाई यौन शोषण गरेको सुन्नमा आएको छ।’’

उहाँले मिटरब्याज अन्य सामाजिक अपराधको कारण बनेको भन्दै यो समस्यालाई समाधान गर्नुपर्ने बताउनुभयो।  

प्रतिनिधि सभा सदस्य प्रभु साहले मिटरब्याज पीडितको आन्दोलनको अन्त्य गरेर पीडितलाई न्याय दिलाउनका लागि सदनको ठोस निर्देशन हुनुपर्ने बताउनुभयो। उहाँले मिटरब्याजीले कानुनको ठाडो उल्लङ्घन गरेका भन्दै आवश्यक कारबाही नगरेमा अपराध झन् बढ्ने बताउनुभयो। प्रतिनिधि सभा सदस्य प्रेम सुवालले देशको अर्थतन्त्र कमजोर बनाउने मन्त्रीलाई स्पष्टीकरण सोध्नुपर्ने बताउनुभयो। 

प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले सरकारले काठमाडौं उपत्यकाको धर्म, संस्कृति मार्न लागेको हो ? भन्दै प्रश्न गर्नुभयो। उहाँले केही दिनअघि उपत्यकामा हुने एक जात्राको दिन रातभर बत्ती नआएको भन्दै सो दिन बत्ती नआउनुको कारणबारे छानबिन गर्न समिति बनाउन माग गर्नुभयो।