• ११ मंसिर २०८१, मङ्गलबार

बेलायतका नरेशको स्वागतमा जर्मनी

blog

बर्लिन, चैत १५ गते । बेलायतका राजा चार्ल्स तृतीय जर्मनीको तीन दिने राजकीय भ्रमणमा आज (बुधबार) यहाँ आउँदै हुनुहुन्छ । देशको राजसिंहासन सम्हालेपछि हुनलागेको पहिलो विदेश भ्रमणमा उहाँका साथ रानी क्यामिला पनि रहनुहुनेछ ।

यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोधप्रदर्शनका कारण उहाँको भ्रमण स्थगित भएको थियो ।

बर्लिनका विभिन्न भागमा बेलायतका झण्डा फहराइएका छन् । बेलायतका राजदम्पतिलाई जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयर र प्रथम महिलाएल्के बुडेनबेन्डरले सैन्य सम्मानका साथ स्वागत गर्ने कार्यक्रम छ ।

नजिकका छिमेकी मुलुकको भ्रमण गर्ने राजाको निर्णयअनुसार चाल्र्स जर्मनीतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले बेलायतका राजाको भ्रमणलाई दुई देश र जनताबीचको घनिष्ठ एवम् हार्दिक मैत्रीको प्रतीक भन्नुभएको छ ।

राजा चाल्र्सले बिहीबार जर्मनीको सङ्घीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । जर्मन संसद्लाई सम्बोधन गर्ने उहाँ पहिलो सम्राट् हुनुहुनेछ । साथै उहाँले हालै युक्रेनबाट आएका शरणार्थीलाई पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ । उत्तरी बन्दरगाह सहर ह्याम्बर्गमा नवीकरणीय ऊर्जा परियोजनाको अवलोकन गरेर राजदम्पति शुक्रबार स्वदेश फर्कनुहुनेछ । रासस/एएफपी