• १३ मंसिर २०८१, बिहिबार

सडकको दुरवस्थाले यात्रुलाई सास्ती

blog

तानसेन समाचारदाता

पाल्पा, चैत १५ गते । यस जिल्लाको पश्चिम भेगमा जाने मुख्य सडकका रूपमा रहेको तानसेन–हार्थोक–छहरा सडक जीर्ण बन्दै गएको छ। सात वर्षदेखि सडकको मर्मत तथा सुधार हुन नसक्दा ३० किलोमिटर सडकको अवस्था नाजुक बनेको हो। लुम्बिनी प्रदेश सरकारले मर्मत सुधारमा ध्यान नदिँदा सडक अहिले धुलाम्मे बनेको छ। बर्सातको समयमा हिलाम्मे बनेर हिँड्नै नसकिने अवस्था आउने गरेको छ। तत्कालीन जिल्ला विकास समितिले डेढ दशकअघि उक्त सडक ओटासिल गरिएको थियो।

त्यसपछि तत्कालीन जिल्ला प्राविधिक कार्यालयले मर्मत सुधार गर्दै आएको थियो। तर हाल उक्त सडकखण्ड प्रदेश सरकार मातहतमा गएपछि यो सडकको मर्मत हुन नसकेको रैनादेवी छहरा–४ का स्थानीय बासिन्दा नित्यानन्द पोखरेलले गुनासो गर्नुभयो। सडक बिग्रिएर हिँड्नै नसक्ने अवस्था भए पनि लामो समयसम्म मर्मतमा कसैको ध्यान नपुगेको पोखरेलको भनाइ छ। दुई वर्षअघि सांसदको पूर्वाधार विकास योजनाअन्तर्गत सडक फराकिलो पार्ने काम भएको थियो। 

त्यति बेलासमेत सडक कालोपत्रे गर्नेभन्दा पनि भएको कालोपत्रे सडक बिगार्ने काम मात्र भएको यात्रुको भनाइ छ। कालोपत्रे गर्न भनेर सडक फराकिलो बनाए पनि भएको कालोपत्रे सडक बिग्रिएर हिँड्नै नसक्ने अवस्था बनेको रैनादेवी छहरा मुझुङ्का स्थानीय रामबहादुर बमरेलले बताउनुभयो। सडक बिग्रिएर सबैभन्दा सास्ती मोटरसाइकल स्कुटीमा यात्रा गर्नेलाई समस्या भएको उहाँले बताउनुभयो। सडक लामो समयसम्म मर्मत सुधार हुन नसक्दा यात्रुले सास्ती भोगेको प्रदेश सरकार मातहत रहेको कार्यालयका प्रतिनिधिले समेत स्वीकार गर्छन्। 

यो सडकलाई प्रदेश सरकारले गौरवको योजनामा समावेश गरेकाले केही समयपछि सडकको स्तरोन्नति हुने कार्यालयका प्रमुख अरुण गुप्ताले बताउनुभयो। चालु आर्थिक वर्षभित्रै प्रदेश सरकारले सडक सुधारका लागि आवश्यक बजेटसहित कामका लागि अघि बढ्ने अपेक्षा रहेको उहाँले बताउनुभयो।  जिल्लाको पश्चिम भेग रिब्दीकोट, रैनादेवी छहरा गाउँपालिकाका विभिन्न वडा तथा गुल्मी र अर्घाखाँचीका बासिन्दासमेत यो सडक भएर यात्रा गर्छन् तर सडकको अवस्था नाजुक बन्दा हजारौँ यात्रु सास्ती बेहोर्न बाध्य भएका छन्।