नरेन्द्र ढकाल
गोरखा, चैत १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सवारीको सट्टा भ्रमण शब्द प्रयोग गर्नु राम्रो हुने बताउनुभएको छ । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल गोरखाको गोरखनाथ र गोरखकाली मन्दिरमा दर्शनका लागि आउनु भएका उहाँले यस्तो बताउनुभएको हो ।
‘‘सवारी शब्द अन्य गाडी वा यातायातका सन्दर्भमा प्रयोग गरेपनि भ्रमणको सन्दर्भमा यसलाई प्रयोग नगरौँ, बरु ‘आवागमन’ शब्द प्रयोग गरे हुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘कुनै ठेट नेपाली शब्द प्रयोग गरे हुन्छ, यो अरबी, फारसी शब्द हो ।’’
सवारी शब्दले सामान्तवादको प्रतीक जस्तो रूप लिएको हुनाले यसको सट्टा भन्दा सरल शब्द प्रयोग होस् भन्ने आफूले चाहेको उहाँले बताउनुभयो । सङ्घीय गणतन्त्र नेपालको राष्ट्रपति भूमिका र जिम्मेवारी बारे आफू जानकार रहेको बताउनुभयो । सोही अनुरूप कार्य गर्ने उहाँको भनाई छ ।
‘‘अहिले देशमा गणतन्त्र आएको छ । मैले चुनावका बेला गणतन्त्रको राष्ट्राध्यक्ष र राजतन्त्रको राष्ट्राध्यक्षमा के फरक हुन्छ म हेक्का राख्छु भनेको थिए,’’ उहाँले भन्नुभयो, ‘‘सोही अनुरूप मेरो कर्तव्य र जिम्मेवारी प्रति सचेत छु ।’’
हेलिकोप्टर मार्फत बिहान ९ः३० बजे गोरखाको ऐतिहासिक गोरखा दरबार आइपुग्नु भएका उहाँले गोरखकाली मन्दिर र गोरखनाथ गुफामा गरी झण्डै ४५ मिनेट पूजाआजा गर्नु भएको थियो ।
त्यसपछि गोरखाको ठूलो आँगन र गोरखा संग्रालय परिसरमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नु भएको थियो । ऐतिहासिक गोरखा सङ्ग्रहालयको अवलोकन गर्नुका साथै उहाँले त्यहाँ उपस्थित शुभेच्छुक र सर्वसाधारणलाई सम्बोधन समेत गर्नु भएको थियो ।
‘‘म नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएपछि काठमाडौँ बाहिरको यो पहिलो भ्रमण हो, धार्मिक एवम् ऐतिहासिक महत्त्व बोकेको यस गोरखा जिल्लामा भ्रमण गर्न पाउँदा म हर्षित छु,’’ उहाँले भन्नुभयो, ‘‘यस अवसरमा महत्त्वपूर्ण धार्मिक स्थल गोरखकाली भगवती र गोरखानाथको दर्शन र महत्त्वपूर्ण ऐतिहासिक गोरखा सङ्ग्रहालयको भ्रमण गर्न पाउँदा धेरै खुसी लागेको छ ।’’
वर्तमान नेपाल निर्माणका पृथ्वीनारायण शाह, बिस्से नगर्जी, रामशाह जस्ता वीरको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उहाँहरूको योगदानको चर्चा समेत गर्नु भयो । गोरखा ऐतिहासिक, धार्मिक र पर्यटकीय जिल्ला रहेकोले यसेको विकासमा पनि जोड दिन उहाँले सरकारलाई आग्रह गर्नु भएको छ ।