• १३ मंसिर २०८१, बिहिबार

पाँचखाल सेजको काम सुस्त

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, चैत ११ गते । निर्यातजन्य उद्योग स्थापना गरी व्यापार घाटा कम गर्ने उद्देश्यले सरकारले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो तर विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने घोषणा भएको ११ वर्ष बित्दासमेत कामले गति लिन सकेको छैन । 

वि.सं. २०६८ भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले पाँचखाल नगरपालिका–७ र ८ मा सेज स्थापना गर्ने निर्णय गरे पनि २०७५ असार २४ गते मात्रै सेजको नाममा जग्गा प्राप्त भएको थियो । सरकारले सेज स्थापनाका लागि वन मन्त्रालयमार्फत तत्कालीन होक्से गाविसको देवीस्थान सामुदायिक वनको छ सय रोपनी र शिखरपुर सामुदायिक वनको चार सय रोपनी गरी एक हजार रोपनी जमिन उपलब्ध गराएको हो । सोबापत सरकारले वन मन्त्रालयलाई २० करोड रुपियाँ उपलब्ध गराएको थियो । 

अहिले सेज निर्माणस्थलसम्म पुग्ने पहुँच मार्ग निर्माण र प्रशासनिक भवनको रङ्गरोगन तथा मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरण पाँचखाल साइट कार्यालयका सबइन्जिनियर सागर सिलवालले सेज निर्माण हुने जमिनमध्ये २० रोपनी जमिनको रुख कटान गरी प्रशासनिक भवन निर्माण गरिएको बताउनुभयो । 

उहाँले ९८० रोपनी जमिनमा रहेका कटान गर्नुपर्ने रुखको लगत सङ्कलन गरी टाँचा लगाउने काम भइरहेको जानकारी दिँदै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सम्पन्न भई वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र वातावरणीय व्यवस्थापन योजना (ईएनटी) स्वीकृत भइसकेको बताउनुभयो । 

सब–इन्जिनियर सिलवालले सेजको नाममा जग्गा प्राप्तिमा ढिलाइ तथा कटान गर्नुपर्ने रुखको लगत सङ्कलनलगायतका कारणले काममा ढिलाइ भएको बताउनुभयो । उहाँले वनले रुख कटान गरिसकेपछि सेज निर्माण हुने स्थानको जग्गा सम्याउने, जग्गाको वरिपरि घेराबार लगाउनेलगायतका काम गरिने बताउनुभयो । 

डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकका डिभिजनल वन अधिकृत देवीचन्द्र पोखरेलले सेजभित्र पर्ने सबै रुख एकै पटक कटान गर्दा व्यवस्थापनमा समस्या हुने भएकाले सुरुमा संरचना निर्माण हुने स्थानको रुख कटान गर्ने बताउनुभयो । पाँचखाल सेजभित्र ४० भन्दा बढी निर्यातजन्य उद्योग स्थापना गर्न सकिनेछ ।

सेजमा निर्माण हुने विभिन्न संरचना निर्माणका लागि १७ हजार पाँच सय रुख कटान गर्नुपर्नेमा हालसम्म चार हजार रुखमा टाँचा लगाइएको छ । सेजको प्रशासनिक भवन निर्माणलगायतका काममा हालसम्म करिब १४ करोड रुपियाँ खर्च भएको सिलवालले बताउनुभयो ।

निर्माणाधीन सेजका लागि करिब १४ अर्ब रुपियाँ खर्च हुनेछ । साथै प्रशासनिक भवन, सेवा भवन, सीमा पर्खाल, बालउद्यान, फोहोर पानी प्रशोधन केन्द्र, रिफ्रेसमेन्ट सेन्टर, सार्वजनिक शौचालय, पार्किङस्थल, खानेपानी ट्याङ्की निर्माण, खानेपानी प्रशोधन केन्द्र, विद्युत् सब–स्टेसनलगायतका संरचना निर्माण हुनेछन् ।