चित्रवन धुम्म भा’को छ रोगी जस्तो मुहार छ
मास चैत चलेको छ सूर्यको ताप क्षीण छ
धमिलो भा’छ आकाश तुवाँलोको छ शासन
चारैतिर अँध्यारोले ढाकेको आज यो दिन ।
मान्छे हतारमा देख्छु मुस्कान छैन ओठमा
अभावले धसी दाह्रा हाँसिराछ समाजमा
देशमा छैन क्यै धन्दा चारैतर्फ बेहाल छ
कुरौटेको छ वर्चस्व, सत्तामा मोलतोल छ ।
सत्तामा पौडिने सारा खोटा सिक्कासरी भए
बिचौलीसँगको दोस्ती चोप झैं टाँंसिदै गयो
नयाँ, पुरानु सारामा पैसाको होड चल्दछ
जनतासँगको वाचा पानी फोकासरि भयो ।
जबसम्म ऊ कुर्सीमा बस्छ, बिर्सिन्छ सत्यता
नसामा कुर्ली उफ्रन्छ नराखी शिष्ट नम्रता
कुर्र्सी जोगाउने खेल खेल्छ उस्ले सधैंभरि
कोटेरी हर्षमा हुन्छ राखी आफ्ना वरिपरि ।
आर्थिक जर्जर देश, भासिँदै गा’छ दिन्दिन
युवाले देश छाडेर वृद्धको भा’ छ क्रन्दन
तैपनि चेत खुल्दैन, दलमा झगडा सदा
लुछाचुँडी गरी खाने धन्दामा छन् सबै कडा ।
रोकी यो खेल हे युवा देश बन्थ्यो अघि बढे
केही युवा उठेका नि खेल कच्चा गरी लडे
जनता आज छन् तिम्रा साथमा लौ अघि सर
आमाको चेहरा सम्झी पुष्टताको रवि छर ।
छ्यापाछ्याप गरी हिले खेल चल्दै छ देशमा
आफ्ना कर्तुत छोपेर भिड्दैछन् उग्र रूपमा
भ्रष्टाचारीहरू आफ्ना गोरु नै ठिक हो भनी
कुर्ली कुर्ली हिँडेका छन् चोखो हीरा म हुँ भनी
भरतपुर–४, चितवन