बाबुराम शर्मा
दोलखा, चैत १० गते । दोलखाका नौ स्थानीय तहमा रहेका ७४ वडामध्ये ११ वटा वडा कार्यालयको भवन अझै निर्माण भएका छैनन्। सङ्घीयता कार्यान्वयनमा आएको करिब छ वर्ष लाग्दा जग्गाको अभावसँगै सहमति हुन नसक्दा वडा कार्यालय भवन निर्माण हुन नसकेको हो।
६३ वडामा मात्र कार्यालय भवन निर्माण भएको बताइएको छ। जिल्लाको वैतेश्वर गाउँपालिकाले आठै वडामा कार्यालय भवन निर्माण सम्पन्न गरेको छ। पालिका अध्यक्ष छवि लामाले वडाहरू भाडामुक्त भएपछि ६० लाख रुपियाँ वार्षिक बचत हुन थालेको जानकारी दिनुभयो।
पालिकाले पनि भवन निर्माण गरिसकेकाले पालिका अब पूर्ण रूपमा घरभाडामुक्त भएको छ। उत्तरी बिगु गाउँपालिका भाडामुक्त पालिका बनेको छ। अध्यक्ष सञ्जीव ओलीले भन्नुभयो, “वडा नम्बर १, लामाबगरमा अहिलेसम्म माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले भाडा तिरिदिएको छ भने भवन पनि बनाइदिन थालेको छ।
वडा नम्बर २ र ३ मा कारितास नामक संस्थाले वडा कार्यालय भवन निर्माण गरिदिएको छ। बाँकी पाँचवटा वडाले सामुदायिक भवन तथा साविकको गाविस भवन प्रयोग गर्दै आएका छन्।
कालिञ्चोक गाउँपालिकाका नौवटै वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन्। सहमति जुट्न नसक्दा पालिकाको भवन भने निर्माण हुन सकेको छैन।
मेलुङ गाउँपालिकाले वडा नम्बर २, ६ र ७ मा भवन निर्माण गरी वार्षिक आठ लाख रुपियाँ बचत गरेको छ। गाउँपालिका प्रवक्ता हीरा थोकरले भन्नुभयो, “वडा नम्बर १, २ र ५ ले सबिकको गाविस भवन प्रयोग गरिरहेका छन्। वडा नम्बर ३ मा भवन निर्माण हुन सकेको छैन।”
आगामी आर्थिक वर्ष भाडामुक्त वडा हुँदा करिब १४ लाख रुपियाँ बचत हुनेछ। यसपालि पालिकाको भवन पनि निर्माण सुरु भएको छ। जिरी नगरपालिकामा वडा कार्यालय भवनहरू निर्माण भइसकेका छन्। चालू आर्थिक वर्षदेखि मात्र भाडामुक्त भई छ लाख ५६ हजार रुपियाँ बचत हुने नगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिनुभयो।
तामाकोसी गाउँपालिकाका पनि सातवटै वडा कार्यालय भवन निर्माण भइसकेकाले वार्षिक १५ लाख रुपियाँ बचाएको छ। शैलुङ गाउँपालिकाले पाँचवटा वडा कार्यालय भवन निर्माण गरी ७२ हजार रुपियाँ बचत गर्न थालेको छ। दुईवटा निर्माणाधीन रहेकाले आगामी आर्थिक वर्षदेखि भाडामुक्त भई एक लाख रुपियाँभन्दा बढी बचत हुने देखिएको छ।
गौरीशङ्कर गाउँपालिकामा सातवटा वडा कार्यालय भवन निर्माण गरी तीन लाख ५० हजार रुपियाँ बचत हुन थालेको छ। गाउँपालिका अध्यक्ष श्यामसुन्दर तामाङले भन्नुभयो, “वडा नम्बर २ र ९ मा जग्गा अभाव र सहमति हुन सकेको छैन। वार्षिक एक लाख रुपियाँ भाडा तिर्नुपरेको छ।”
सदरमुकाम चरीकोटको भीमेश्वर नगरपालिकामा पाँचवटा वडामा भवन निर्माण सम्पन्न भएर तीन लाख ८४ हजार रुपियाँ बचत हुन थालेको छ। वडा नम्बर ५ को कार्यालय भाडामा रहेको छ।
नगरका इन्जिनियर सुरेश राउतले भन्नुभयो, “वडा नम्बर ८ ले साविकको गाविस भवन र वडा नम्बर ९ ले सामुदायिक भवन प्रयोग गरिरहेका छन्। जग्गा अभाव हुँदा वडा नम्बर २ मा मासिक १२ हजार घरभाडा भुक्तानी गर्दै आएकोमा अहिले २० लाख रुपियाँको लागतमा एकतले भवन निर्माण सुरु भएको छ।”