• १४ वैशाख २०८१, शुक्रबार

प्राकृतिक उपचार मानव जीवनका लागि अपरिहार्य

blog

शिलान्यास कार्यक्रममा नेता गुरुङ । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, चैत ९ गते । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले योग र प्राकृतिक उपचार मानवजीवनका लागि अपरिहार्य रहेको बताउनुभएको छ । गल्याङ नगरपालिका –१ उत्तरबाहिनीमा निर्माण गर्न लागिएको कालीगण्डकी योग तथा प्राकृतिक अस्पताल भवनको शिलान्यास गर्दै उपसभापति गुरुङले सो कुरा बताउनुभयो ।

मानिसका खानपान तथा आहारबिहार अस्तव्यस्त बन्दैगएको भन्दै नेता गुरुङले पूर्वीय संस्कृतिको महत्त्व अत्यधिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘योग, ध्यान तथा साधनाजस्ता परम्परागत उपचार पद्धति र विधिको महत्त्व झन् बढ्दैगएको छ ।’

सङ्घीय सांसद समेत रहनुभएका नेता गुरुङले राजनीति गर्नेहरूका लागि योग, ध्यान जरुरी रहेको बताउनुभयो । नागरिक निरोगी भएमात्रै देशमा आर्थिक संवृद्धि सम्भव हुने गुरुङको भनाइ छ । 

अस्पतालका संरक्षक तथा धार्मिक अभियन्ता चैतन्य कृष्णले सबैको सहयोग र सहकार्यमा अस्पताल निर्माण सम्पन्न गरिने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘कालीगण्डकी नदीको महत्त्व र समिपताले पनि अस्पतालको भविष्य सफल रहेको छ ।’

गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले अस्पतालको निर्माण र सञ्चालनका लागि आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कालीगण्डकी नदीको समीपमा निर्माण हुन लागेको अस्पताल भवन सङ्घीय सरकारको २ करोड ११ लाखको लागतमा निर्माण सम्पन्न हुने अस्पताल निर्माण समितिका अध्यक्ष शालिकराम बस्यालले जानकारी दिनुभयो । 

गण्डकी प्रदेशकै उत्कृष्ट अस्पतालको रूपमा विकास गर्न आफूहरू सक्रिय रहेको स्थानीय युवा तथा निर्माण समितिका सचिव विवेक बस्यालले जानकारी दिनुभयो । पछिल्लो समय उत्तर बाहिनी धाममा योग तथा ध्यान साधना शिविहरू सञ्चालन हुँदैआएको छ ।