• १३ वैशाख २०८१, बिहिबार

गठबन्धन भत्काउन हामी लाग्दैनौँ : महासचिव पोखरेल

blog

पत्रकार सम्मेलनमा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, चैत ९ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दशदलीय गठबन्धन भत्काउन आफूहरू नलाग्ने बताउनुभएको छ ।  निर्वाचनअघिको पाँचदलीय गठबन्धनलाई सत्ता नेतृत्व चलाउन जनमत प्राप्त नभएकाले सरकार सञ्चालनका लागि नेकपा (माओवादी केन्द्र) लाई एमालेले सहयोग गरेको बताउनुभयो । 

प्रेस चौतारी दाङ शाखाले घोराहीमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सत्ता गठबन्धनको दशदलीय गठबन्धन भत्काउन एमाले नलागी कुशल प्रतिपक्षको भूमिकामा रहने बताउनुभयो । 

पत्रकार सम्मेलनमा महासचिव पोखरेलले देशमा चुलिँदै गएको आर्थिक सङ्कट व्यवस्थापनमा दशदलीय सत्ता गठबन्धनले सकारात्मक भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले माओवादी नेतृत्वको सरकारमा एमाले सामेल रहँदा आर्थिक सूचक सकारात्मक देखिए पनि सरकारबाट हटेलगत्तै खराब सूचकाङ्क देखापरेको बताउनुभयो । 

देशमा देखिएको राजनीतिक अराजकता र सांस्कृतिक अतिवादका नाममा मौलिक संस्कृतिमाथि भइरहेको अतिक्रमणले देशलाई अस्थिरतातर्फ धकेल्दै गएको बताउनुभयो । उहाँले दशदलीय सत्ता गठबन्धनमा एकमत भएमा देश मध्यावधिमा नधकेलिने बताउनुभयो । 

प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नतिजाले नयाँ पुस्तामा समेत एमालेको लहर बढेको बताउनुभयो । नेकपा (एमाले) राष्ट्रियताको पक्षमै देखिएकाले बाह्य र आन्तरिक शक्तिको तगारो बन्दै गएको बताउनुभयो ।