कविराज घिमिरे
हिले, चैत ९ गते । चार दशकअघिसम्म धनकुटाको खाल्सा क्षेत्रका प्रत्येक घरमा खाँडीको कपडा बुन्ने तान भेटिन्थ्यो । त्यस बेला उद्योगबाट उत्पादन भएका कपडाको विकल्पका रूपमा सबैले यही कपडा प्रयोग गर्थे । गाउँघरमै पाइने कच्चा पदार्थ र परम्परागत सीपबाट खाँडी कपडा उत्पादन हुन्थ्यो । गाउँघरमै उत्पादन भएको कपासबाट धागो कातेर खाँडी कपडा बुनिन्थ्यो । खाँडी बुन्ने तान स्थानीय रूपमै बनाइन्थ्यो र परम्परागत रूपमा सीप हस्तान्तरण हुँदै आएको थियो तर अहिले खाँडी बुन्न जान्ने मान्छे भेट्न मुस्किल हुँदै आएको छ ।
“त्यस बेला अन्य कपडा पाइँदैनथ्यो, पाइहाले पनि किन्ने पैसा हुन्नथ्यो । कपासबाट धागो कातेर त्यही धागोबाट कपडा बुनिन्थ्यो । सबै खालका कपडा खाडी नै हुन्थ्यो, त्यसैले खाँडीकै कपडा लगाउनुपर्ने पनि बाध्यता थियो,” धनकुटाकै शहीदभूमि गाउँपालिका–३, देवीथानकी ८५ वर्षीया डिकमाया राईले भन्नुभयो ।
आधुनिक उद्योगबाट उत्पादन भएका सस्तो कपडा सहज रूपमा प्राप्त हुन थालेपछि खाँडी कपडा लोप हुन थालेको हो । अहिले गाउँघरमा न खाँडी कपडा नै पाइन्छ न त त्यो बुन्ने तान नै तर यसको महत्त्व र माग भने अझै पनि धेरै छ ।
खाँडी कपडाको संरक्षण गर्ने उद्देश्यले शहीदभूमि गाउँपालिकाले युवालाई तालिम दियो । नयाँ पुस्ताले तालिम पाएपछि भने खाँडी कपडाको उत्पादन बढ्न थालेको छ । पूर्ण रूपमा घरेलु प्रविधि र स्थानीय कच्चा पदार्थको प्रयोग गरेर उत्पादन गरिएको कपडा महँगो पर्ने गरेको छ ।
तालिमपछि खाल्सा क्षेत्रमा मात्र अहिले एक सयभन्दा बढीले खाँडी कपडा उत्पादन गर्न थालेका छन् । त्यसमध्ये केहीले व्यावसायिक रूपमै उत्पादन गर्दै आएका छन् तर बजारमा अन्य खाँडीजस्तै देखिने कपडा सस्तैमा पाउने भएकाले उनीहरूलाई भने बजारको समस्या हुने गरेको छ । खाँडीजस्तो देखिने कपडा मेसिनबाट समेत उत्पादन हुने गरेको छ । मेसिनबाट उत्पादन गरिएको खाँडी निकै सस्तो पर्ने भएकाले यहाँ उत्पादित कपडा बिक्री हुन नसकेको छिन्ताङ महिला समाजका अध्यक्ष प्रभा पराजुली राईले बताउनुभयो । “एक थान कपडा उत्पादन गर्न एक हप्ता लाग्छ । ज्याला मात्र तीन हजार पाँच सय रुपियाँभन्दा बढी हुन्छ, अन्य सामानको दाम जोड्दा आठ हजार रुपियाँभन्दा कममा बिक्री गर्दा घाटा हुन्छ,” उहाँले भन्नुभयो ।
परम्परागत खाँडी उत्पादन गर्न धेरै मेहनत पर्ने भएकाले महँगो पर्ने भए पनि गुणस्तरीय हुने स्थानीय रामकुमारी राई बताउनुभयो ।