• १३ वैशाख २०८१, बिहिबार

सरकार गठनको गृहकार्यका लागि समाजवादीले बनायो कार्यदल

blog

नेकपा (एकीकृत समाजवादी) को बैठक ।

काठमाडौं, चैत ७ गते। नेकपा (एकीकृत समाजवादी) ले सरकार गठनको प्रक्रियाका बारेमा गृहकार्य गर्न कार्यदल गठन गरेको छ। 

समाजवादीका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता जगन्नाथ खतिवडाले मङ्गलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको ५४ औँ सचिवालय बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो। पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र वेदुराम भुसाल रहेको तीन जनाको कार्यदल गठन भएको उहाँको भनाइ छ। 

बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, “आज ५४ औँ केन्द्रीय सचिवालयको बैठक बसेको छ। आजको समसामयिक राजनीति, सरकार, प्रदेश सरकार लगायत धेरै विषयमा छलफल गरेको छ। सरकार गठनको समग्र प्रक्रियाका बारेमा गृहकार्य गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, वेदुराम भुसाल तीन जनाको एउटा कार्यदल बनाइएको छ।”

उहाँले बैठकमा सरकारमा जाने मन्त्रीले के गर्ने, कस्ता नीति तथा कार्यक्रम बनाउने भन्ने विषयमा छलफल भएको बताउनुभयो। “मन्त्रीले के गर्ने भन्ने विषयमा, कस्ता नीति तथा कार्यक्रम बनाउने। केन्द्रदेखि प्रदेशसम्मको मन्त्रालय बाँडफाँटको विषयमा”, छलफल भएको उहाँको भनाइ छ। 

यसबाहेक कुन मन्त्रालय लिने वा नलिने भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले यस विषयमा छलफल नभएको बताउनुभयो।