• ७ वैशाख २०८१, शुक्रबार

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

blog

सोमपाल कामी ।

रमेश विश्वकर्मा 

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ ।

आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पुर्‍याउन सफल भएको भन्दै गाउँपालिकाले नगद ५० हजार रुपियाँ सहित सम्मान गर्न लागिएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो । 

क्रिकेट खेलाडी कामी चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ झुर्ममा जन्मिनुभएको हो । उहाँको परिवार हाल भारतमा बसोबास गदै आइरहे पनि अहिलेसम्म बसाइसराइ नलिएको वडा नम्बर ८ का वडाध्यक्ष फणीन्द्रराज अर्यालले बताउनुभयो । 

आइसिसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गुल्मी जिल्ला र चन्द्रकोट गाउँपालिकाको गौरव बढाएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई हौसला बढाउन सम्मान गर्न लागिएको चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो । 

गाउँपालिकाले घोषणा गरेको पुरस्कार राशि समयानुकूल मिलाएर भौतिक उपस्थितिमा कार्यक्रम गरी हस्तान्तरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयो । अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामी प्रशिक्षणमा रहेकाले समय नमिलेको बताउनुभयो । 

त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि ‘डकवर्थ लुइस’ नियमका आधारमा नेपाल विजयी भएको हो । 

नेपाल ९ रनले विजयी भएको थियो । जितसँगै नेपालले एकदिवसीय विश्व कप क्रिकेटको सिधै क्वालिफायर खेल्ने पक्का भएको हो । नेपालले जिम्बाब्वेमा हुने क्वालिफायरमा दक्षिण अफ्रिका, श्रीलङ्का, लगायतका टेष्ट मान्यता प्राप्त देशसँग खेल्ने सम्भावना छ । 

त्यस्तै, यु–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल भएका छत्रकोट गाउँपालिका ५  मानकोटका अर्जुन कुमाललाई पनि गाउँपालिकाले सम्मान गरेको छ ।

हालै युएईमा सम्पन्न यु–१९ एसिया छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका उहाँलाई गाउँपालिकाले नगद ५० हजार रुपियाँ सहित सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो । 

उहाँले कुबेरविरुद्ध शतक समेत प्रहार गर्नुभएको थियो । क्रिकेट खेल मार्फत गुल्मी जिल्ला र छत्रकोट गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको भन्दै गाउँपालिकाले नगद सहित सम्मान गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।