आर्यघाटमा दनदन दन्किरहेको चिताग्निको राप र प्रकाशलाई छलेर थोरै पर रातिको समयमा म र मेरो मित्र बागमतीको डिलमा उभिएका छौँ । वरपरका बिजुलीका बत्तीहरू पनि रुवाबासी र बिलाप सुन्दासुन्दै पहेँलिएका जस्ता छन्, पिलन्धरे । बागमतीको बगिरहेको पानीभित्र माथि डाँडाका रूखहरूका छायाँ प्रेतात्माझैँ नाचिरहेका छन्, मानौँ तिनलाई यस लोकबाट मोक्ष चाहिएकै छैन । पखालाले जिउको पानी निथ्रिएको जस्तो झुसे जून सकिनसकी बाहिर देखापरेको छ, हाजिर लगाएर जागिर पकाउन आएजस्तो । अरूलाई सल्काएर आफँै सल्किन नसकेका काला दाउराहरू पानीभित्र ढाडिएर लडिरहेका थिए स्वस्थानी व्रतको पर्खाइमा । जबजब प्रचण्ड प्रतापी आगो शिथिल हुन्थ्यो, तबतब धँुवा जुर्मुराउन थाल्थ्यो । एउटी अधबैँसे आइमाई हातमा मिनरल वाटरका बोतल बोकेर वल्लो घाटदेखि पल्लो घाटसम्म चहारिरहेकी थिई घाँटी ओभाएका ग्राहकको खोजीमा । उसका लागि जीवन यही बीस रुप्पँेको पानीको बोतल हो । निस्तो जीवन आनन्दले निदाइरहेको थियो एउटा जोगी ।
रात्रि प्रहरमा पशुपति आर्यघाट जानुपर्ने भएको थियो । गएँ । आर्यघाट अर्थात् जीवनलीलाबाट बहिर्गमन हुने द्वार, सिनेमा सकिएपछि बाहिरिने ढोकाजस्तै । आफन्त गुमाएका प्रियजनको हृदयविदारक माहोल बन्दै जानथाल्यो । म पनि अलि भावुक मान्छे । त्यहाँ अडिन नसकेर म र एक जना मित्र भएर परपरतिर डुल्न निस्किएका हौँ । मधुरो प्रकाशमा आँखाले विचरण गरिरहेको थियो । केही पर, नदीतटका भ-याङमा एकजना साधुजस्ता देखिने व्यक्ति केही गर्दै थिए । छेवैमा पुगेर हेर्दा स्वयं पशुपतिनाथ भगवान् पो बसेर केही गर्दैरहेछन् । हामी पनि एकछिन सँगै बस्यौँ । “प्रभु, के भयो ? के गर्नुभएको यस्तो ?” मैले सोधेँ । दिक्दार मान्दै उनले भने, “के गर्नु भक्त ! सबै भक्तजनले मलाई चढाउन टाढैबाट सिक्कैसिक्का हु-याउँदा निधार, तालु, टाउको वरिपरि ट्वाङ्ट्वाङ् लागेर टुटुल्कै टुटुल्का उठेर छुनै नहुने भयो । यसो आइसले सेक्दै छु । कोरोनाको बेला त टुटुल्को सुकेका थिए । भोलि फेरि सबेरैदेखि भक्तहरू ओइरिन्छन् । तयार भैदिनुप-यो । निराश पार्नु भएन ।” बिचरा महादेव ! समस्या चर्कै रहेछ । “होइन प्रभु, कि त त्यो चँदुवा टाउकैनेर झार्नुप-यो, कि त हेल्मेट लगाएर बस्नुप-यो । दिनदिनै कतिन्जेल टाउको सेकेर बस्ने ?” मैले आफ्नो सल्लाह बिसाएँ । “हुन्न भक्त, त्यसो गर्नुहुन्न । उनले भने– “आफ्ना सेवकको रक्षार्थ हलाहल विष त कण्ठमा बोकेर बसेको छु भने सुपारीजत्रा टुटुल्का टाउकामा उठेर के भो र ? भक्तहरूको पीडा हरण गर्न बसेको मैले आफ्ना पीडाको चिन्ता लिनुहुन्न ।” आइसको पोको बागमतीमा सेलाएर महादेव चाँदीका चार ढोकातिर लागे ।
शालिग्राम पुजेर तुष्टि लिनुपर्ने भक्तलाई आफ्नै आराध्यदेवसँग साक्षात् हुँदा धन्य भएँ । प्रभुको महिमा जति गाए पनि सकिन्न ।
मलाई एक दिन पशुपतिको सन्ध्याकालीन आरती हेर्ने रहर जाग्यो । प्रशंसा धेरै सुनेको थिएँ, पाशुपत् क्षेत्र नै झलमल पार्ने दीपज्योति र हृदयस्पर्शी भजनकीर्तन सुन्न, हेर्न स्वयं देवाधिदेवसहित सकल इन्द्रलोक यस भूतलमा ओर्लिने किसिमको तर हेरेकै भने थिइनँ । पुरानो भइसकेको पुलमा अडेसिएर भजन–कीर्तन सुनिरहेँ, आरती हेरिरहेँ । चारैतिर भक्तालुहरू बाक्लै थिए तर त्यस जमातमा महादेवलाई कतै देखिनँ । देवता हुन्, मायावी रूपमा मान्छे बनेर यतैकतै डुल्दै होलान् भन्ने लाग्यो । हेर्दाहेर्दै भिडभित्रका प्रत्येक मानिस मायावी महादेवझैँ पो लाग्न थाल्यो । हैट्, यो मन पनि कति चाँडै भत्किएको ? मान्छेले डोरीलाई त्यत्तिकै सर्प ठानेका होइन रहेछन् ।
रात बाक्लिँदै गयो, मानिस रित्तिँदै गए । घाट अब सुनसानप्रायः भइसकेको थियो । जीवनको अन्तिम यात्राको पालो पर्खिरहेका केही निष्प्राण शरीर र उनलाई बिदा गर्न जुटेका थोरै मानिस मात्रै देखिँदै थिए । बागमतीको धमिलो पानी अब अलि बेस्सरी सुसाएको भान हुन थालेको थियो । धुवाँ माथितिर हराउँदै थियो, पानी उँधोतिर बगिरहेको थियो । जीवन धेरैजसो धुवाँसँग उड्यो, बचेखुचेको पानीले बगायो । बाँकी रहेन केही कसैका लागि । उसलाई आफ्नो भन्नेहरू पनि रित्तो हात फर्कँदै थिए ।
म आज पनि महादेव त्यही तटमा झर्लान् भन्ने प्रतीक्षामा थिएँ । सुस्तरी सुस्तरी महादेव भ-याङ ओर्लंदै आइपुगेँ । म खुसी हुँदै छेउमा पुगेँ र दण्डवत् गर्दै सोधेँ, “प्रभु, आज त ढिलो भयो नि यता झर्न ? बिसन्चो भएर पो अथवा आज टुटुल्को सेक्न नपर्ने थियो र ? कसो भयो प्रभु ?”
“होइन भक्त । धेरै दिन भयो पार्वती माइती गएकी । नियास्रो लागेर नारदलाई खबर बुझ्न पठाएको थिएँ । तिनी पनि ढिलो गरी फर्किए ।”
“त्यत्ति कुराका लागि त यसो फोनसोन गर्दा, भिडियो कल, भाइबर गर्दा भैहाल्थ्यो नि प्रभु ?” म जान्ने भैटोपलेँ ।
“हिमालय पर्वतमा न मोबाइलको नेटवर्क टिप्छ, न त इन्टरनेट नै समाउँछ ।”
“त्यसोभए बरु बिरामी बिदा, पर्व बिदा, क्याबी मिलाएर दुई चार दिन आपैmँ गएको भए हुने । सधैँभरि यस्तो पट्यारिलो जीवन कसरी जिउनु ?” मलाई उदेक लागेर सोधिदिएँ ।
“भक्तहरूको भलाइमा समर्पित भएपछि जीवन सधैँ रमाइलो । जनताको सेवा गर्छु भन्ने नेता र भक्तको रक्षा गर्छु भन्ने देवताले कहिल्यै भोक, तिर्खा, थकाइ, पट्यार मान्नु उचित हुँदैन वत्स ।”
“प्रभु, एउटा कुरा भनौँ ? यसो बरु एक दुई महिना विदेशको भ्रमण मारेर आऊँ न ? माइन्ड पनि फ्रेस हुन्छ, काममा पनि थप ऊर्जा मिल्छ ।” उताबाट केही जवाफ आएन ।
“जगदीश्वर, यसो आफ्ना समकक्षीलाई पनि हेर्नुप-यो । ब्रह्माजी हाँसमा चढेर सररर, विष्णु भगवान् पनि गरुडमा सररर, हजुरको नन्दी ...एकचोटि हवाईजहाज त चढ्नैपर्छ प्रभु । माथि आकाशबाट कैलास पर्वत हेर्दै उड्नुपर्छ ।” म अझै फकाउँदै थिएँ, “यता भक्तजनको चिन्ता गर्नुपर्दैन प्रभु । हजुर आफैँ अन्तर्यामी, त्यसमा पनि अचेल सबथोक अनलाइनबाट भइहाल्छ । एउटा ल्यापटप पनि सँगै लैजाऔँला ।”
हेर, विदेश भ्रमण भनेपछि भगवान् पनि लोभिँदा रहेछन् । अब नेता, कर्मचारी विदेश डुलेर आउँदैमा किन च्याउँच्याउँ गर्नु ? सुनकै छानामुनि बसे पनि देशाटन गर्ने रहर कसलाई हुन्न र ?
“बरु प्रभु, हजुरलाई अङ्ग्रेजी बोल्न पो आउँछ कि आउन्न कुन्नि ?” मलाई कौतूहल भयो ।
“आउँछ वत्स, ठिकठिकैसँग बोल्छु । उहिले उहिले पाशुपत् क्षेत्रमा थुप्रै हिप्पीहरू आउने गर्थे । राति अबेरसम्म बसेर तरुना–तरुनीहरू गीत गाउँथे, जुल्फी नचाउँथे, चिलिम सल्काउँथे । रमाइलो गर्थे । अनि तिनीहरूकै सङ्गतले अङ्ग्रेजी सिकियो । अचेल त कसैले ‘हाय ब्रो’ भन्छन्, कसैले ‘हलो शिब्स’ भन्छन् । जानेको अङ्ग्रेजी पनि बिग्रियो ।” मैले सकीनसकी हाँसो थामेँ ।
“त्यस्तो अप्ठ्यारो परेमा जुन मुलुकमा गए पनि एकभन्दा एक अब्बल नेपालीहरू भेटिन्छन् । दोभासेको काम गरिदिइहाल्छन् नि प्रभु ? भएभरका क्षमतावान् नेपालीहरू उतै त छन् नि । डाक्टर, इन्जिनियर, प्रोफेसर, पूर्वप्रशासक, जो पनि भेटिन्छन् । मेरो पनि एउटा ग्रिन कार्ड त छ तर यता यसो प्रभुहरूसँग साँठगाँ मिल्यो भने झ्याप्प ठुलै केही हुन्छ कि भनेर मात्रै हो ।”
“मलाई यी सृष्टिकर्ता ब्रह्माजीसँग गुनासो छ ।” महादेव थोरै चिन्तित देखिए । “धर्तीमा पनि एउटा स्वर्ग बनाउँछु भनेर यति सुन्दर, प्राकृतिक विविधता भएको वातानुकूलित देश सृष्टि गरेपछि आफ्नो सृष्टिलाई समयानुकूल अपटुडेट गर्नु, मोडिफाई गर्नु भनेको खोइ ? सबै विदेशतिर लागे । उतैको रमझमले तान्यो । यस्तै हो भने एक दिन हामी भक्तबिनाका देउता हुन बेर छैन ।”
“भैगो प्रभु, ब्रह्माजीका पछाडि नलागौँ । यसो सकिन्छ भने मलाई स्कुलमा ‘नेपाल एसियाको स्विट्जरल्यान्ड हो’ भनेर पढाउने मास्टरलाई बोलाएर स्पष्टीकरण सोध्ने हो कि ? मास्टर भएर झुटो कुरा सिकाउने ?” महादेवको व्यङ्ग्यात्मक मुस्कानले मलाई सजग बनायो । प्रभुले हाँसेरै विमति जनाउनुभयो । अब विनम्र भएर भन्नै प-यो, “बरु हामीले पनि विदेशमा दुई चारवटा विदेश विभाग, भ्रातृ सङ्गठन निर्माण गर्ने हो कि ? त्यसो गर्दा उता पनि हाम्रो पकड बलियो हुन्छ । पशुपतिनाथ आउनुभएको छ भनेपछि विदेशमा रहेका भक्तजनले यसो रात्रिभोजको आयोजना त गर्लान् । पशुपतिनाथ–अमेरिका, पशुपतिनाथ–बेलायत, अस्ट्रेलिया, क्यानडा, जापान, जर्मनी, ...अनि गौरीशङ्करको महिनैपिच्छे विदेश भ्रमण ।”
“वत्स, भ्रमणको तयारी गर ।” महादेव राजी भइछाडे ।
सर्वप्रथम महादेवको नागरिकता बनाउनुपर्ने भयो । हाम्रा कुनै देवताको नागरिकता छैन । अरू देशले अङ्गीकृत नागरिकता दिएर फ्याट्टफ्याट्ट लगिदिए भने हामी त देवताबिनाका नागरिक पो हुन्छौँ ।
नागरिकता फाँटमा पुगेर फाराम भर्न थालियो ।
नाम : भोलेशङ्कर, पशुपतिनाथ भनिने महादेव
थर : नखुलेको
स्थायी ठेगाना : कैलाश पर्वत
माता–पिता : अज्ञात, वडा अध्यक्ष त्यतातिर बस्न नसक्ने हुनाले सिफारिस नलेखिदिएको ।
उमेर : कन्यादान लिन योग्य
वर्ण : खरानी रङ्गको
“खै त जन्ममिति ?” फाँटवालाको प्रश्न ।
“सर, जतिबेला प्रभुको जन्म भयो, त्यतिबेला जगत्मा इति, मिति, संवत् केही थिएन । उहिल्यै–उहिल्यै भन्दा पनि पहिल्यै हो सर ।” मेरो उत्तर ।
“अनि यहाँ बसोबास गरेको प्रमाण त पेस गर्नु पर्ला नि ?” फेरि फाँटवालाले प्रश्न थपे ।
“त्यो पशुपतिनाथको मन्दिर स्थापना भएको जति वर्ष भयो, त्यति वर्षदेखि प्रभु यहीँ बस्नुभएको हो । ऊ ! चन्द्रागिरि, गुह्येश्वरी, बागमतीलाई बोलाएर साक्षी राख्नोस् न नभए ।” मेरो उत्तरमा पक्कै पनि दम थियो होला ।
महादेवको विदेश भ्रमणको योजनाको समाचार तीनै लोकमा फैलियो । आफैँ सर्वव्यापी प्रभुले यस्तो योजना किन बनाएका होलान् भनी सबै एक–अर्कासँग कुरा गर्न थाले । यो चाल पाई महादेवले एक दिन तेत्तीस कोटी देवता, माता पार्वती, पुत्रहरू, स्वर्गका अप्सराहरू, नन्दी, भृङ्गी, प्रमथगण सबैलाई पशुपतिनाथको पटाङ्गिनीमा भेला हुन आदेश भयो । मनुष्य चोलाधारीका तर्फबाट म मात्रै निम्तालु उपस्थित थिएँ । भेलाको उद्देश्यमाथि प्रकाश पार्दै एजेन्डा प्रस्तुत गर्न महादेवबाट मलाई नै आदेश भएको थियो । भेला हुनेहरू सबैतिर आँखा डुलाएर हेर्दा फोटाहरूमा देखिएका काल्पनिक अनुहारहरू सबै त्यहीँ थिए, त्योभन्दा पनि फरक र विचित्रका अनुहार त झन् कति हो कति ? म त मनुष्यलोकमै छैन कि झैँ भएर मन आत्तियो । सधैँ रामलीलामा हनुमान बनेर उफ्रिने हाम्रो गाउँको हर्के पनि यतै छ कि भनेर हेरेको, रहेनछ । पोहोर मात्रै बित्यो बिचरा ! एकछिन् रम्भा, उर्वशी आदि अप्सराहरूतिर नजर लगाएर मन शान्त पारेँ ।
सबै जना एकएक तुर्की अमृत पिएर अजम्बरी बनेका होलान् भन्ने ठानेर आफ्नो सम्बोधन आरम्भ गरेँ, “उपस्थित सम्पूर्ण अविनाशी चोलागण...” अब अप्ठ्यारोमा परेँ के भन्ने भनेर । नेपाली जनता त बडा स्पष्ट हुन्छन्, कुन जमातलाई ‘जय नेपाल’ भन्ने र कुन जमातलाई ‘लाल सलाम’ भन्ने अथवा नमस्कार, अभिवादन । यताको रीतिथिति के हो, के हो ? जय शम्भो, जय भोले, नारायण, हरि ॐ, राधेराधे, सीताराम, जय श्रीकृष्ण...? अलमलमा मैले पनि अलमल्याएरै टारेँ ।
“भगवान् शिवजीले विदेश भ्रमण गर्ने इच्छा गरेको खबर हल्लैहल्लामा सर्वविदितै भएछ । अपितु यसलाई यस बृहत् भेलाबाट अनुमोदन गराउनु एउटा उद्देश्य रहेको छ । भर्खरै भोलेनाथको नागरिकताको फाराम भरेर बुझाइएको छ । यदि सो बनेमा राहदानी बनाउने, भिसा लगाउने काम बाँकी छँदै छ । तर खबर अहिले नै भाइरल भइसकेछ । अचेल नेपाल भूमिका पत्रकारहरू धेरै स्मार्ट छन् । कुरा लुकाउन कठिन छ ।” म एकपछि अर्को विषयमा प्रवेश गर्दै थिएँ ।
त्यत्तिकैमा नारायण–नारायण भन्दै नारद टुप्लुक्क आइपुगे । “हे प्रभु ! हे तीन लोक, चौध भुवनका मालिक ! यो घाँटीमा सर्पमाला, हातमा त्रिशूल, बाघको छाला पहिरिएर जाँदा सुरक्षाकर्मीले हजुरलाई कसरी भित्र प्रवेश गराउलान् ? ठूलो धर्मसङ्कटमा पर्ने छन् बिचराहरू । हजुरको शरीर छामछुम गर्दा बेरुवा औँठीभैmँ कण्ठमा बसेको सर्पले सुरक्षाकर्मीको कानै चुँडिने गरी डसेमा कसो होला प्रभु ? हजुरको आँखा झकाएको बेला ककपिटमा गएर पाइलटलाई नै चिटिक्क पा-यो भने त फेरि सबै जना समुद्र मन्थन गर्न झर्लान् प्रभु । अनि त्यो त्रिशूल त हतियारैसरह भइहाल्यो । बाघको छाला त झनै हुन्न प्रभु ! यी सबै यहीँ फुकालेर केही समयलाई धोती–कमिज, दौरासुरुवाल, पाइन्ट–सर्ट कुनै पहिरन धारण गरिबक्स्योस् प्रभु ।
एकजोर टाइसुट नै हाल्न पाए अझ बेस । झन् यो हजुरले सेवन गर्ने पदार्थ ? कसले बुझ्छ शिवबुटीको महत्ता ? लागू पदार्थ ओसारपसारमा हजुरलाई पक्रियो भने त जगत् नै अनाथ हुन्छ । भैगो प्रभु, एक दुई महिनालाई बरु उतैको पिजा, बर्गर, स्यान्डविच खाँदा भइहाल्यो नि ? आखिर यताको उता के नै चल्छ र ? चल्ने भनेको कि बुद्धि हो, कि त पाखुरा । नारायण ! नारायण !!” नारदले सबै तरहले कुरा बिस्तारमा सम्झाए ।
महादेवले मेरा सामुन्नेमा आएर कुनै मन्त्रीले आफ्नो स्वकीय सचिवलाई सम्झाएझैँ सम्झाउँदै भने, “हेर वत्स, जगत्को एउटै मन्त्र हो, ‘सत्यम् शिवम्, सुन्दरम् !’ मेरो यो भेष नाङ्गो होइन, शिवत्वले ढाकिएको छ । शिवत्व नै उत्रियो भने म शिव कसरी रहन्छु ? त्यसैले म यो विदेश भ्रमणको विषय यही बिन्दुबाट फिर्ता लिन्छु ।
मेरो त कैलाश यहीँ छ, हिमालय यहीँ छ, हिमालयपुत्री यहीँ छिन्, पुत्रहरू गणेश र कार्तिकेय यहीँ छन्, सतीदेवीका स्मरणहरू यहीँ छन्, भक्तजन यहीँ छन्, अतुलनीय सौन्दर्यले युक्त सिङ्गो तपोवन यहीँ छ । युगौँदेखिको आफ्नो मान र पहिचान यतै फुकालेर म फगत शरीर बोकेर त्यहाँ किन जाने ? म यो सुरम्य भूमिको माटो सुँघेर जति रमाउँछु, त्यति नै मेरा लागि यथेष्ठ छ । योभन्दा कुनै ऐश्वर्य बढी ठान्दिनँ । जहाँ–जहाँ शिवका भक्त छन्, त्यहाँ शिव स्वयं छन् ।”
पशुपतिका घन्ट, मृदङ्गहरू बज्न थाले, शङ्ख बज्न थाले, चराचुरुङ्गीहरू सुरिला गीत गाउन थाले, मृगहरू उफ्री–उफ्री नाच्न थाले । हजार जिब्रा भएका शेषनागले पनि वर्णन गर्न नसक्ने श्री महादेव तहाँबाट अन्तध्र्यान भई पार्वतीसमेत लिई आफ्नै नेपाल देशको भ्रमणमा जाँदा भए ।
जय शम्भो ! हरहर महादेव !!