यो मेरो मन तरङ्गित, चञ्चल र अविश्रान्त मन, केही खोजिरहेछ माथि माथि आकाशमा उडेर ब्रह्माण्डको अंशियार बन्न । ताराहरू टिपेर पोल्टो भर्न खोजिरहेछ । रविको तरङ्गित तरङ्गसित लहवरी खेल्दै केही आर्जन गर्न खोजिरहेछ । मन तड्पिरहेछ केही पाउन तर यो मनले के खोजिरहेछ आफैँलाई थाहा छैन ।
यसले कुनै पदप्रतिष्ठा खोजेको छैन । भौतिक मोह पनि पटक्कै छैन । जीवन र जगत्प्रति कुनै आशक्ति पनि होइन । आफन्त र पराय भन्ने पनि छैन । भेद र वैमनश्य पनि कसैप्रति छैन । तर पनि मन साँखुम छैन । मन अघाएको छैन । मनले के के खोजिरहेछ ? मन किन अधैर्य, अस्थिर र चञ्चल रहन्छ ? सायद यो गतिको नियम होला । वस्तुको अस्तित्व गतिमा टिकेको छ, अडेको छ । गतिको अर्थ हो परिवर्तन । विकास र परिवर्तन पो खोजेको हो कि ?
मनले साँच्चै बाँच्ने बाटो खोजिरहेको छ । बाँच्ने उपाय खोज्दैछ । ओरालो लागेको जून अस्ताचलतिरको यात्रा, शेष जीवनको उत्कृष्ठ कर्म के होला भनेर यो अधैर्य मन टोलाइरहेको हो कि ?
मनका विभिन्न आयाम, रूप र रङ्हरू छन् । हराभरा र उर्वर मनले सधैँ बोकेको हुन्छ सप्तरङ्गी इन्द्रेणीको सौन्दर्यलाई । घामपानीसित धारामा पोखिएको इन्द्रेणी टिपेर शरीरमा सजाउन चाहन्छ उतिखेरै । जीवनमा रङ भरेर मुस्कानको बहार ल्याउन चाहन्छ उतिखेरै । चङ्गाझँै माथि माथि उडेर जूनतारा टिप्न खोज्छ अन्तरिक्षको दूरी नाप्दै र हिसाब राख्दै । अनन्तः आकाशमा वास्तुशास्त्रका रेखा कोरेर बस्ती बसाउन चाहन्छ यता धरतीतिर अर्घेला भएका अनाथ विपन्नको ।
मनको बह कसैलाई नकह भन्छन् कतिले । तर मनको गाँठो बाँधिराख्न चाहन्न मेरो मनले । मनको बह सबैसित पोखँु पोखँु हुन्छ । पोखिन पाए मन हलुङ्गिन्छ । बाँच्ने ओउतो खोज भन्छ मनले । बाँच्ने सञ्जीवनी छ भने कसैसित, भनिदिए हुन्छ समयमै । सञ्जीवनी पिएर दीर्घजीवी हुने रहर पनि छैन । तर म पुस्तौँ पुस्तासम्म मर्न चाहन्न । प्रकृतिको सार्वभौम नियतिको विरोधमा छैन म । मन भन्छ तँ सधैँ बाँच्ने होइनस् । जीवनसित मृत्यु सँगसँगै यात्रा गरेको छ । तर मलाई जसरी पनि बाँच्नु छ । बाँच्ने उपायको खोजीमा मन अधैर्य, अस्थिर र चञ्चल बनेको छ । म बाँचेर मर्न चाहन्न । मरेर बाँच्ने बाटो खोज्दैछ मनले ।
मन समयको वेग र संवेग हो । समयको छालसँगै मूलप्रवाहमा बग्न नसक्दा कतै किनारतिर ठोक्किन पुग्छ । कतै डरलाग्दा भुँवरीमा चक्कर काटेर अलमलिइरहन्छ । जीवनको गन्तव्यहीन भुँवरीमा फन्को मार्दै गर्दा जीवन झरेको पत्तै नहुने रहेछ । गोल पृथ्वीको चक्कर लगाएर मन अघाएन । मलाई मनभित्रको मन खोज्न मन छ र मनको गहिराइ नाप्ने रहर छ ।
मनको गहिराइभित्र मन खोज्नुपर्छ
समुद्रको गहिराइमा मात्रै समुद्र भेटिन्छ
समुद्र पानीको भण्डार हो
तर पानी समुद्र हुन सक्दैन
मन दयाको खानी हो
तर दया मनको खानी हुन सक्दैन
मन छाम्न मनभित्रै छिर्नुपर्छ
सतहमा त केवल छाल मात्रै भेटिन्छ तर ग्हिराइ नाप्न भने निकै गाह्रो छ ।
मन सत् र चितको सङ्गम हो । सत् र असत्को परख गर्न सक्छ सच्चा मनले । ढुङ्गाको मन बोकेकाहरूले मनभित्रको गहिराइ नाप्न सम्भव छैन । मनलाई धमिलाई दिएको छ प्रदूषित विश्व परिवेशले । लोभी मनलाई बगाई दिन्छ प्रदूषित खहरेले । असल कर्ममा आकर्षित हुने मनको पनि कमी छैन वर्तमान सामाजिक व्यवस्थामा । मन एक रूप अनेक । चन्द्रमाको चाँदनीमा पनि दाग देख्छन् कतिले । असल र खराब, सत्य र असत्यबीचको द्वन्द्ववाद प्रकृतिको नियम नै हो भन्ने मान्छ विज्ञानले । भौतिक विज्ञानले विकासित गरेको वर्तमान विश्वमा भेटिन्छन् पक्ष र विपक्षहरू । भित्र मन सफा छ भने बाहिरी मय पखालिन्छ शुक्ल कर्मले । त्यसैले नीतिशास्त्रमा भनिए होला ‘मुहूर्तमपि जिवेत नरशुक्लेण कर्मणी ।’ अमरात्व अन्तरनीर्हित छ चोखो मन र शुक्ल कर्ममा ।
मन विश्वास र अविश्वासको सङ्गम हो । ढुङ्गाको मूर्तिमा विश्वास गरेर शरण पर्छ कमजोर मन शान्ति आर्जनका लागि । भएको विम्ब बनेर उभिएका छन् हाम्रा देवताहरू र वणिकको चङ्गुलमा फसेका छन् भक्तजनहहरू । मलाई स्वर्गको विश्वास छैन । ‘नमरी स्वर्ग देखिन्न’ भन्छन् । मेरा मरेका अग्रज आएर आजसम्म स्वर्ग यस्तै छ भनेर देखाएका छैनन् । म सधैँ बाँच्न चाहन्छु । त्यसैले स्वर्गको चिन्ता छैन । मलाई विश्वास छ, जे छ मभित्रै छ । मेरै मनको गहिराइको मप्रति विश्वासमा छ । पञ्चतìवको समृद्धि हो मेरो मन । पृथक् संसारप्रति विश्वास छैन । वर्तमान विश्वमा देवी देवताका मूर्ति र संस्कृति सम्पदा विकाउमाल बनेका छन् । मूर्ति पूजकहरूका अगाडिबाट शदियौँ पुराना सम्पदा अमेरिका र युरोपका बजारमा छ्यापछ्याप्ति भेटिन थालेका छन् । यो आस्थाको व्यापार कति निकृष्ट छ । घृणित पापी मनभित्रको प्रलोभनले संसारलाई कलङ्कित गर्दै लगेको छ । संसारका मानिसभित्रको पापी मन पखाल्न एक पटक बुद्धले प्रयत्न गरेका थिए सत्य वचनद्वारा ।
शुद्धमन, अमृतवचन र सत्कर्म नै मानिसभित्रको स्वर्ग हो । यसको शुद्धता यसैको स्वच्छताले अमरत्वमा पु¥यायो धेरै मानिसलाई । वचनको मिठास र सौन्दर्यले ढुङ्गाको मनलाई पगाली दिन्छ । वचनको वाणले घोचेको मनको घाउ कहिल्यै निको हुँदैन । यही वचन मुक्तिको मार्ग बन्न सक्छ, यही वचन कहिले निको नहुने चोट बन्नेगर्छ । मनभित्रको भावाव्यक्ति हो अभिव्यक्ति । कण्ठबाट निस्केपछि वचन आफ्नो हुँदैन । नालबाट निस्केको गोली फर्केर आउँदैन । पुण्यकर्मले मानिसलाई अमरत्व प्रदान गर्छ । मान, सम्मान र वैभवमा निर्लिप्त मन चोखो भेटिएको छैन । त्यागको विम्ब हो बुद्धत्व । त्यसैले बुद्धत्व अमर छ । ज्ञान बाँचिरहन्छ । अन्तरसम्बन्धलाई प्रष्ट्याउँछ । मनभित्रको शान्त र सम्यक मनले जीवनको मार्गचित्र कोर्न सक्छ । मन, वचन र कर्मको सम्यक सन्तुलनले जीवनलाई सफल बनाउँछ भन्छ मेरो भित्री मनले ।
मनभित्रको मन खोज्दै जाँदा आफैँभित्र हराएको अनुभूति हुन्छ । अतीतमा मेरो मनले मलाई के के गर्न लगायो केके गर्न सिकायो सम्झिँदा अनौठो लाग्छ । संसार अज्ञेय छ भन्ने शून्यताबाट पृथक् वस्तुतथ्यको खोजीमा लाग्न मनले निर्देशित गरेर गुन लगाएको छ । आग्रह र असहिष्णुताले ठाउँ बनाउन पाएन मनभित्र । विभेद र अन्याय सहेर बस्नु हुँदैन भनेर दिमागका तन्तुलाई सधैँ सावधान गरायो मनले । मन र मस्तिस्कको अनौठो सम्बन्ध रहेछ भन्ने अनुभूति हुन्छ । समयका सबै खाले चुनौतीसित मुकाबिला गर्दै अगाडि बढ्न पछि परेन यो मन । अतिताका पाना एकएक गर्दै पल्टिँदै गए । मनले कतै धोका दियो कि भनेर पढेँ अतितका ठेलीहरू । कतै बाटो बिराएजस्तो लागेन । कुलत, कुसङ्गत र कुबाटोमा लाग्न नदिन सधैँ चौकीदार बनेको अनुभूति हुन्छ मनभित्रको मनलाई छाम्दा ।
चौबाटोमा दोमन भएर अलमलिनु परेन । जीवनका घुम्तीहरूमा समयले सिर्जेका चुनौतीहरूसित डटेर सामना गर्ने सामाथ्र्य र ऊर्जा दियो मनले र विवेकले बाटो सोझ्याइदियो । मनको गहिराइमा विचार छ र विवेक छ । मन र विवेकको पनि बलियो तादाम्त्य छ । जीवन यात्राकै क्रममा संवेगात्मक ज्ञान परिष्कृत र परिमार्जन हुँदै सत्यको नजिक पुग्छ र विवेकको फोल्डरमा सुरक्षित हुन्छ । आत्मविश्वास पैदा गराइदिन्छ परिपक्व मनले । मन विचलित हुँदा विचार र विवेकमा सियाँल पर्न पुग्छ । त्यसैले मन माझ्नुपर्छ समयसमयमा । मन खोलेपछि मात्रै प्राणवायु चलखेल गर्न पाउँछ । कुण्ठित मन सफा हुँदैन ।
मन संवेदनशील छ । वचनको वाणले घोचेको मनको घाउ सितिमिति निको हुँदैन । फाटेको मन टाल्न गाह्ररो हुन्छ । हिंसाको भाष्य हत्या मात्रै होइन । अरूको मन दुखाउनु, होच्याउनु, भेदभाव गर्नु पनि हिंसा नै हो । कुण्ठा पालेर आफूले आफैँलाई खिन्न बनाउनु पनि आत्महिंसा नै हो । कुण्ठित मन सधैँ उदासीन र खिन्न रहन्छ । दुःख पर्दा न आत्तिनु मन बलियो गर्नुभन्ने अर्तिबुद्धि दिन्थे अग्रजहरूले । यो उनीहरूको विवेकसम्मत ज्ञानको निचोड हो ।
मैले मभित्रको मनसित संवाद गर्छु कठिन पर्दा । मभित्रको मनसित सल्लाह गर्छु बिसौनीमा बिसाएर बाटो लाग्दा । कठिनाइसित जुध्न सिकायो मनले । पहाड चढेर झर्न पनि सिकायो उसैले । त्यसैले मलाई मनको गहिराइभित्रको चोखो मन खोज्न मन लागेको छ आज भोलि ।
मैले घरछेउ आँगन र पर्खालतिर सक्रिय कमिलाको ताँती देख्छु । कर्मयोगी कमिला आपसमा मिलेर श्रम गर्दै आएको छ युगयुगदेखि । कमिला सानो छ तर उसको मन विशाल छ । त्यति सानो प्राणलीले मिलेर माटोको रास लगाएको देख्दा अनौठो लाग्छ । सयौँ प्रतिकूलता विपरीत वंश विस्तारका लागि श्रम गर्न सिकायो प्रकृतिले । कमिला सानो छ, माहुरी सानो छ । यी ससना प्राणलीको चित्त विशाल छ र श्रमशक्ति त्योभन्दा पनि ठूलो छ । चित्त सानो गर्ने र मनको ढोका बन्द गर्नेको बौद्धिक र मानसिक विकास सम्भव छैन । चिन्तनको क्षितिज फराकिलो बनाउन सके संसार देख्न पाइन्छ ।
आखिर मन के हो ? मनभित्रको मनसित संवाद गर्छ मनले । मन जीवन हो । जिउने कला सिकायो मनले । चेतनाको आँखीझ्याल खोलिदियो निस्काम कर्मले । मनले निर्देशित गर्छ मानिसलाई । जीवन र जगत्को रहस्य खोतल्न प्रेरित ग-यो कर्मठ मनले । रसिक, हराभरा र सक्रिय मनको विशाल बगैँचामा ढकमक्क फूल्ने गर्छन् उत्साह र उमङ्गका बहुरङ्गी फूलहरू र झाँगिने गर्छन् भावनाका मञ्जरीहरू ।
मनभित्रको मनको आँखीझ्यालभित्र छिरेको चेतानाको प्रकाशले मानव जातिको दृष्टि क्षितिजलाई फराकिलो बनाउँदै लग्यो । चित्त सानो गर्न हुन्न भन्ने सिकाउँदै आए पूर्वजले । विशाल ब्रह्माण्डको विचरण गर्न विशाल छाती चाहिन्छ भन्ने सिकायो भित्री मनले । त्यसैले आज मानिसका लागि पृथ्वी सानो हुँदै गएको छ । अन्य नक्षेत्र र ग्रहतिर साइत गरेको छ ।
सहास जीवन जिउने कलामध्ये एक हो । दुस्साहस त्योभन्दा महìवपूर्ण छ । पानीमा नपसी पौडी खेल्न सम्भव छैन । विषको परीक्षण गर्ने दुस्साहसी पुर्खाले विष र अमृतको पत्ता लगाए र मानव जाति बचाए । मानिसमा आँट चाहिन्छ विश्व विजयका लागि सहास मात्रै होइन दुस्साहस पनि चाहिन्छ ऐन मौकामा भनेर सिकाउँदै छ भित्री मनले ।
मन केवल मन मात्रै होइन । मन ज्ञान र विज्ञानको सङ्गम पनि हो बाँच्नका लागि । मानव जातिले गर्दै आएको लामो सङ्घर्ष र श्रमको उपलब्धि हो ज्ञान र विज्ञानको चेत । निष्क्रिय मन निषेधित हुँदै गएको छ जीवन र व्यवहारमा । त्यसैले मन गतिशील चञ्चल र तरङ्गित छ । गतिशील र चलायमान मन बगेको पानी झैँ कञ्चन र शुद्ध हुन्छ । त्यसैले सधैँ बगिदिनुपर्छ भन्छ भित्री मनले । भित्री मन रसद्रव्य हो । बग्नुपर्छ बगिदिन्छ । लक्ष्य भेदनका लागि समुद्र भेदनका लागि ।
मनले सुमार्ग खोजेको छ । उज्यालो खोजेको छ । भविष्य खोजेको छ । उज्ज्वल भविष्यको खोजीमा मन तरङ्गित छ । वस्तुगत जगतले कोमल मनमा ठेस पु-याउँदै लगेको छ । सहमति छैन वर्तमानसित । असहमति पोख्ने बाटो खोजेको छ यो गतिशील, चञ्चल र विद्रोही मनले । सबै प्रकारका असङ्गतिसित सम्झौता गर्न समर्थनमा शिर हल्लाउन मात्रै जन्मेको होइन मानिस । स्वत्व, स्वाभिमान र स्विवेकको परख गर्न खोजेको छ भित्री मनले ।
वर्तमानलाई विचलित गरेको छ विश्व आर्थिक, सामाजिक र राजनीतिक प्रणालीले । ऐस र वैभवको प्रतिस्पर्धामा हानथाप छ आपसमा । ज्ञान र विज्ञाननको दुरुपयोग भएको छ । मन मौलिँदै गएका छन् । धोईपखाली गर्ने विचार र सिद्धान्तका जरुवा सुक्न थालेका छन् । खोक्रो मन बोकेर भड्किँदै छ नयाँ पुस्ता । स्वच्छन्दताले सामाजिक मर्यादा र सम्बन्धलाई भत्काउँदै लगेको छ । जीवन उपभोगका लागि मात्रै हो भन्ने विकृति मौलाउँदै छ । तृष्णा र लालसाले, ‘बसुधैव कुटुम्बकम्’को हाम्रो मौलिक आदर्शलाई फिका गराइदिएको छ । मनहरू धरातल भुलेर भड्किँदै छ । घृणा, आशक्ति र तृष्णाको बेगले चोखो मनलाई कलङ्कित र कमजोर बनाउँदै लगेको छ ।
खिन्न र भारी मन बोकेर हिँडिरहेका छन् कतिले । लोभको भाँडो जीवन पर्यन्त भरिएन कतिको । त्यसकै पीरले कतिले आत्महत्या गरे, कतिलाई मृत्युशøयामा सहजै प्राण त्याग गर्न कठिन भएको छ विचरालाई । चित्त शान्ति कहिले भएन लोभीको संसारमा । भय त्यसकै परिणाम हो । आत्मसम्मान र आत्मविश्वास गुमाएका मानिसहरू कायर, काँतर हुन्छन् । आफैँले काँतर ठान्नेको मन भाँचिएको हुन्छ ।
मनको विकास घोईपखाली गर्दै उदात्तचित्त बोकेर अगाडि बढ्ने जीवनदर्शन सबैलाई लागि ग्राह्य छ । सफा मनले मात्रै भविष्य देख्न सक्छ । त्यसैले मनको गहिराइभित्र चोखो मन खोज्नुपर्छ । मनको मर्म छाम्न फेरि पनि मनभित्रै हिँडनुपर्छ । मलाई सम्यक मन, वचन र कर्मको खाँचो छ । सिर्जना र विचार कालजयी छ ।