• ११ जेठ २०८१, शुक्रबार

शिविरमा गरिएको छोरी शिक्षा बीमा अलपत्र

blog

धीरेन्द्रप्रसाद साह 

जनकपुरधाम, चैत ७ गते । मधेश प्रदेश सरकारले सञ्चालन गरेको छोरी शिक्षा बीमा कार्यक्रमबाट यहाँका २५ हजार छोरी वञ्चित भएका छन्। मधेशका २५ हजार छोरीको बीमा फाराम भरेको करिब दुई वर्ष भइसक्दा पनि हालसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन। 

मधेश प्रदेशमा मुख्यमन्त्री ‘‘बेटी पढाऊँ बेटी बचाऊँ’’ कार्यक्रमअन्तर्गत जन्मिएका छोरीलाई सरकारले छोरी शिक्षा बीमा/मुद्दती बचत कार्यक्रम गर्दै आएको छ। सुरुमा मुख्यमन्त्री कार्यालय मातहतबाट सञ्चालन भइरहेको यो कार्यक्रमका बारेमा चेतनामूलक शिविर नै सञ्चालन गरिएको कार्यक्रम संयोजक प्रियङ्का यादवले जानकारी दिनुभयो। शिविरबाट २५ हजार बालिकाको बीमा फाराम भरेर सम्बन्धित स्थानीय तहमा राखिएको थियो। ती फारामको हालसम्म बीमा गर्ने वा नगर्ने बारे कुनै निर्णय नै नभएको उहाँले बताउनुभयो। 

मुख्यमन्त्री कार्यालय मातहतबाट सामाजिक विकास मन्त्रालयअन्तर्गत मुख्यमन्त्री ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम गाभिएपछि छुट्टै निर्देशिका पनि बनाइयो। उहाँले भन्नुभयो, “मुख्यमन्त्री कार्यालयबाट सामाजिक मन्त्रालयमा गाभिने प्रक्रिया भइरहेको बेलामा छोरी बीमा रोकिएको थियो। छोरी बीमाका लागि शिविरबाट भरेको फाराम स्थानीय तहले कोभिड १९ का कारण कार्यालयमा बुझाउन नसक्दा बीमा भएन। त्यसपछि मुख्यमन्त्री ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम सामाजिक विकास मन्त्रालयमा सरेर आएपछि छुट्टै निर्देशिका बनाइयो।’’

निर्देशिका अनुसार २०७६ चैतदेखि २०७८ पुससम्मको अवधिमा जन्मेका र फाराम भरेका छोरीहरूको बीमा अन्योलको अवस्थामा छ। 

यस अवधिमा जन्मेका र फाराम भरेका छोरीको बीमाका लागि अहिले बजेट पनि छैन। संयोजक यादवले भन्नुभयो, ‘‘सरकारले बजेटको व्यवस्थासहित क्याबिनेटबाट निर्देशिका संशोधनको निर्णय गरेपछि यी छोरीहरूको बीमा हुन्छ तर यसको पहल कहीँकतैबाट भइरहेको छैन।’’ 

मधेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि उक्त अभियान सञ्चालन गर्दै आएको हो। अभियानको सुरुमा जन्मिएका छोरीलाई एक लाखको निःशुल्क बीमा गरिएको छ। २०७६ फागुनदेखि रकम वृद्धि गरी बीमा रकम तीन लाख पु-याएको अभियानका संयोजक यादवले जानकारी दिनुभयो। 

सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय मातहतमा आएपछि २०७८ माघ १ गतेदेखि यता जन्मेका छोरीको तीन लाखको निःशुल्क छोरी शिक्षा बीमा गरिएको छ। अहिले अनलाइन प्रविधिबाट फाराम भर्ने व्यवस्था गरिएको छ। गत असारसम्म एक हजार ७०२, असार यता एक हजार १८० जना छोरीको शिक्षा बीमा भइसकेको उहाँले बताउनुभयो। उहाँले थप एक हजार ९८० जनाको फाराम स्वीकृत अवस्थामा रहेको जानकारी दिनुभयो। अनलाइन प्रविधिबाट फाराम भर्ने व्यवस्था रहेकोले दैनिक रूपमा बीमितको सङ्ख्या बढ्दै गएको बताउनुभयो। यसअघि मुख्यमन्त्री कार्यालय मातहतका बेला पाँच हजार ६६६ जना छोरीको शिक्षा बीमा गरिएको थियो। त्यतिबेला ३७ हजार ४५३ रुपियाँ प्रिमियम थियो। 

सरकारले अहिले प्रति छोरी शिक्षा बीमाबापत ३७ हजार ४५७ रुपियाँ ६० पैसा प्रिमियम बुझाउने गरेको छ। बीमा गरिएको छोरीले तोकिएको मापदण्ड पूरा गरेमा २० वर्षपछि तीन लाख रुपियाँ पाउने उहाँले बताउनुभयो। बालविवाह नगर्ने, लैङ्गिक विभेदरहित सामान व्यवहार गर्ने, निरन्तर कक्षा १२ सम्मको अध्ययन गर्न लगाउने प्रतिबद्धता पूरा गरिएमा मात्र २० वर्षपछि बीमाको तीन लाख रकम पाउने व्यवस्था छ। 

मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेशप्रसाद यादवले छोरी शिक्षा बीमाबाट वञ्चित भएकालाई बीमाका लागि सत्यतथ्य बुझेर आवश्यक पहल गरिने बताउनुभयो।