• १५ वैशाख २०८१, शनिबार

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु सर्वसम्मत

blog

निर्वाचित स्ववियुका पदाधिकारी। तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, चैत ६ गते। मुलुककै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सर्वसम्मत रुपमा स्ववियुको निर्वाचन सम्पन्न भएको छ। नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा सर्वपक्षीय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चयन गरिएको हो। 

सर्वपक्षीय स्ववियुमा नेवि सङ्घका कृष्ण अर्याल सभापतिमा निर्वाचित हुनुभएको छ। यस्तै उपाध्यक्षमा अनेरास्ववियुका अमृत भट्टराई र सचिवमा क्रान्तिकारीका ताराबहादुर रायमाझी निर्वाचित हुनुभएको छ। 

यस्तै सहसचिवमा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उमेश भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियुका सन्तोष पोखरेल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत जीवनबहादुर थापाले जानकारी दिनुभयो। 

सदस्यमा एमाले निकट अनेरास्ववियुबाट इन्दु गाहा र सुदर्शन पाण्डेय, नेविसङ्घबाट मिस्मा राना र सुशील बस्याल निर्वाचित हुनुभयो। यसैगरी, अनेरास्ववियु क्रान्तिकारीबाट भीम लुंगेली, सृष्टि रास्कोटीमगर, मिलन सारु, सुजिता राना, विञान दुधराज, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुबाट उज्वल भट्टराई र तुषार कालिकोटा सदस्यमा निर्वाचित हुनुभएको छ।

राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु छैठौबाट अंशु भट्टराई, राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनबाट विशाल विष्ट, असंलग्न विद्यार्थी युनियनबाट प्रवेश अर्याल सदस्यमा निर्वाचित हुनुभएको छ। 

मनोनयनका दिन फागुन २७ गते एमाले निकट अनेरास्ववियुले निर्वाचन अधिकृतको कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपछि निर्वाचनका कार्यक्रम केही दिनसम्म अवरुद्ध बनेको थियो।