• ११ असोज २०८१, शुक्रबार

पुल नबन्दा सडक प्रयोगविहीन

blog

तुम्लिङदेखि नल्नको विद्यालयसम्म निर्माण भएर यातायातका साधन सुचारु हुन नसकेको सडक । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला, चैत ६ गते । सडक निर्माण सम्पन्न भए पनि यातायातका साधन सञ्चालनमा आउन सकेको छैन । खार्पुनाथ गाउँपालिका– ४ को वडा कार्यालय जोड्ने कच्ची सडक निर्माण भए पनि कर्णाली नदीमा पुल निर्माण नभएको कारण यातायातका साधन सञ्चालनमा आउन नसकेका हुन् । 

 गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले गाउँपालिकाको सबै वडामा सडक सञ्जाल जोड्ने प्रतिबद्धता अनुसार तुम्लिङदेखि नल्नको विद्यालयसम्म सडक निर्माणकार्य पूरा भएको भए पनि हालसम्म यातायातका साधन सञ्चालनमा ल्याउन नसकिएको स्वीकार गर्नुभयो । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्माणमा पनि उहाँले सबै वडा केन्द्रमा सडक सञ्जाल जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले गाउँपालिका केन्द्र याङ्चुु बजार जोड्ने तुम्लिङमा पुर्बाधार विकास कार्यालयबाट पक्की पुल निर्माणका लागि टेन्डर आह्वान गर्दा गाउँपालिकाले सडक निर्माणकार्य सुरु गरेको तर हालसम्म सो पुल निर्माणको कार्य अगाडि नबढ्दा निर्माण भएको सडकमा गाडी सञ्चालनमा आउन नसकेको बताउनुभयो । 

निर्माण भएको सडकमा यातायातका साधन सञ्चालन हुन नसक्नुमा मुख्यगरी पूर्वाधार विकास कार्यालय दोषी रहेको बताउँदै उहाँले पुल निर्माणका लागि भएको टेन्डरबाट छनाेट भएको कम्पनीसँग सम्झौता गर्न ताकेता गर्दा कुनै सुनुवाइ हुन नसकेको बताउनुभयो । सो सडकले वडाका चार वडा बस्तीलाई छोएको छ । यसबाट दश किलोमिटर सडक निर्माण भएर यातायातका साधन सञ्चालन हुन सक्नेछन् । उहाँले पुल निर्माण कार्यमा ढिलाइले निर्माण भएको सडक भत्किन सक्ने र प्रयोगमा नआउँदा जीर्ण बन्न सक्ने चिन्ता व्यक्त गर्नुभयो । सो खण्डको सडक छ महिना अगाडि निर्माणकार्य पूरा भएको थियो । 

अध्यक्ष रावलले पुल निर्माणमा ढिलाइ हुँदै गए अब कर्णाली नदीमा डोजरबाट गाडी तारेर भए पनि सडक सञ्चालनमा ल्याउन सोचाइमा गाउँपालिका रहेको बताउनुभयो । यस सम्बन्धमा पूर्वाधार विकास कार्यालयले टेन्डर प्रक्रिया तीन पटक सूचना जारी गर्नुपरेको कारण पुल निर्माणमा ढिलाइ भएको जनाएको छ । टेन्डरबाट निर्माण कम्पनी छनाेट भइसकेको र अब चाँडै सम्झौता गरेर निर्माणकार्य अगाडि बढाउने कार्यालयले दाबी गरेपछि सो कार्य अगाडि नबढेको पाइएको हो । उक्त पुल निर्माणका लागि दुई वर्ष अगाडिदेखि टेन्डर निकालिएकाे थियो ।