लीलाधर वली
घोराही, चैत ५ गते । दाङको गढवामा रहेको जनता बहुमुखी क्याम्पसमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका इवराज यादव बिजयी हुनुभएको छ । प्रत्यक्षतर्फ निर्वाचनमा खसेको एक सय १३ मतमध्ये ६३ मत प्राप्त गरेर यावद बिजयी हुनुभएको हो ।
स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) का गोविन्दप्रसाद यादव ४१ मत र अखिल (क्रान्तिकारी) बैद्यका बिशाल यादवले चार मत प्राप्त गरेर पराजित हुनुभयो । त्यसैगरी सचिवमा समाजवादी निकट अनेरास्ववियुकै पुष्पा खड्का ७० मत प्राप्त गरेर बिजयी हुनुभएको निर्वाचन अधिकृत ठाकुर खनालले जानकारी दिनुभयो ।
सचिवमा अखिल छैठौका पुष्पा धिताल ३८ मत प्राप्त गरेर पराजित हुनुभयो । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका ओमप्रकाश यादव बिजयी हुनुभएको छ । नेविसंघका सुदीप बुढाथोकी पराजित हुनुभयो । बिजयी यादवले ७९ मत प्राप्त गर्दा पराजित बुढाथोकीले ३१ मत मात्रै प्राप्त गर्नुभयो ।
सदस्यमा नेविसंघबाट टीका चौधरी, यमुना सुवेदी र अखिल छैठौबाट मनिषा उपाध्याय बिजयी हुनुभएको निर्वाचन अधिकृत खनालले जानकारी दिनुभयो । जनता बहुमुखी क्याम्पस गढवामा १ सय ७९ मतदाता रहेकोमा १ सय १३ मत खसेको थियो ।