• १३ मंसिर २०८१, बिहिबार

सीमित स्रोत साधनकाबीच समृद्धिको मार्गमा छौँ : मुख्यमन्त्री गिरी

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले कार्यक्रममा धारणा राख्नुहुँदै । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल

तुलसीपुर, चैत ५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सीमित स्रोत साधनका बीच समेत लुम्बिनी प्रदेश समृद्धिको मार्गमा रहेको बताउनुभएको छ । मुख्यमन्त्री गिरीले साधन स्रोतको अभाव भए पनि नागरिकको सहयोगबाट प्रदेशलाई समृद्धिको मार्गमा अघि बढाउन सकिएको बताउनुभयो । 

नेकपा (एमाले) ले सुरु गरेको मिसन ग्रासरुट अभियानका क्रममा आइतबार आयोजित कार्यक्रममा उहाँले जनप्रतिनिधि नागरिकसँगको सहकार्य र समन्वयको अभावमा उल्झनमा परेकाले विकासमा अवरोध सिर्जना भएको बताउनुभयो ।  

मुख्यमन्त्री गिरीले सबैको समन्वय र सहकार्यबाट प्रदेशको विकास र समृद्धिको मार्गमा अघि बढ्न सकिने बताउनुभयो । उहाँले नागरिकका असीमित चाहना इच्छालाई जनप्रतिनिधिले समन्वय गर्न सकेको अवस्थामा पूरा गर्न सकिने बताउनुभयो । 

एमाले पोलिटब्युरो सदस्य समेत रहेका गिरीले एमालेले विगतमा गरेका कार्यबाट नै जनताप्रति आकर्षण बढिरहेको बताउनुभयो । उहाँले जनताको आकर्षणलाई नेता कार्यकर्ताबाट विकासमा कार्यमा अग्रसरता दिलाउनुपर्ने सुझाव दिनुभयो । 

पोलिटब्युरो सदस्य रहेका गिरीले अभियानका क्रममा पार्टी कार्यकर्तालाई गोलबद्ध मात्रै नभई सामाजिक काममा समेत अग्रसरता दिलाउनुपर्ने बताउनुभयो । उहाँले अभियानका क्रममा शिक्षालय, पाटी, पौवा, चौतारा, नदीनाला सरसफाइजस्ता सामाजिक विकासका काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 

नेकपा एमाले घोराही नगर कमिटीका अध्यक्ष भुवन चौधरीको अध्यक्षता एवम् मुख्यमन्त्री लीला गिरीको प्रमुख आतिथ्यतामा अभियानको कार्यक्रम सम्पन्न भएको हो ।