नेपालगञ्ज समाचारदाता
नेपालगञ्ज, चैत ५ गते । नेपाल सरकारका खानेपानीमन्त्री अब्दुल खानले नेपालको तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
जनमत पार्टी नेपालगञ्ज उपमहानगरद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पानीको सबैभन्दा धनी देशमा नै खानेपानीको समस्या हुनु दुःखद भएको बताउँदै सरकारले स्वच्छ पानी पाउने जनताको अधिकारलाई सुनिश्चित गर्ने स्पष्ट पार्नुभयो।
पहिलो चरणमा राजधानी काठमाडौँलगायत तराई मधेश र पहाडका विभिन्न भागमा बसोबास गर्ने नागरिकसम्म पानीको पहुँचलाई सर्वसुलभ बनाउने र दोस्रो चरणमा विभिन्न देशमा खानेपानी निर्यात गर्ने योजनाअनुसार काम सुरु गरिएको उहाँले बताउनुभयो।
देशका खोलानालाबाट विभिन्न ‘मिनरलयुक्त’ स्वच्छ पानी बगिरहेको जनाउँदै उहाँले त्यसलाई बजारीकरण गर्न सकेको खण्डमा अन्य देशमा पानी बिक्री गर्न सकिने धारणा राख्नुभयो।
खाडीलगायतका देशमा खानेपानी निर्यात गर्न सके आर्थिक आयआर्जनसँगै परिमाणमा विदेशी मुद्रा भित्र्याउन सकिने दाबी उहाँले गर्नुभयो। “यस विषयमा आवश्यक अध्ययन अनुसन्धान सुरु गरिएको छ,” मन्त्री खानले भन्नुभयो, “यसका लागि विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायमा छलफलसमेत भइसकेको छ।”
नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक प्रदान गरेकोले वर्तमान सरकारले सो हक सबैलाई सरल र सहज तरिकाले दिने मन्त्री खानले बताउनुभयो।
आफूले मन्त्रालय सम्हालेलगत्तै मातहतका विभाग र कर्मचारीलाई खानेपानीको सवालमा कुनै किसिमको राजनीति नगर्न र बखेडा खडा नगर्न निर्देशन दिएको जनाउँदै सबै नागरिकलाई सर्वसुलभ तरिकाले स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको नीतिलाई पूरा गर्न निर्देशन दिएको बताउनुभयो।