• ११ असोज २०८१, शुक्रबार

नासिँदै जैविक विविधता, हराउँदै छन् चरा

blog

जानु पाण्डे 

कपिलवस्तु, चैत ५ गते । कपिलवस्तुको जगदीशपुर ताल आगन्तुक चराको प्रमुख आकर्षक गन्तव्य हो। यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीको ताँती नै देखिन्थ्यो। हिउँदे जाडो छल्न आएका चराले तालआसपासको क्षेत्र रमाइलो र मनमोहक देखिन्थ्यो।

चराचुरुङ्गीको क्रियाकलाप हेर्न स्थानीय पर्यटकको घुइँचो नै लाग्ने गर्दथ्यो तर अहिले जगदीशपुर तालमा त्यस्तो अवस्था विरलै देख्न पाइन्छ। यहाँ कङ्क्रिटको संरचना निर्माण भएसँगै आगन्तुक चराको सङ्ख्या बर्सेनि घट्दै गएको छ।

यस सीमसार क्षेत्रमा स्थानीय, प्रदेश र सङ्घीय गरी तीन तहको सरकारले पर्यटन प्रवद्र्धन तथा विकास निर्माणका नाममा जथाभाबी कङ्क्रिटको संरचना निर्माण गर्न थालेपछि जल र जमिनमा आश्रित आगन्तुक चरा हराउन थालेका छन्।

ताल घेराबारदेखि पर्यटक लोभ्याउन डुङ्गा चलाउने, मन्दिर बनाउने, पिकनिक स्पट बनाउने जस्ता गतिविधिले जैविक विविधता नै हराउन थालेको गुनासो सर्वसाधारणको छ। रामसारमा सूचीकृत क्षेत्रमा बन्ने संरचना पर्यावरणमैत्री नभएको बताइएको छ। 

अब संरचना निर्माण गर्दा पर्यावरण संरक्षणमा समेत जोड दिनुपर्ने भनाइ पन्छीविज्ञ कृष्णप्रसाद भुसालको छ। जगदीशपुर आरक्ष बन्नुपूर्व तालको डिलमा टायल राखेर पदमार्ग निर्माण गरिएको थियो।  अहिले दुई स्थानमा कङ्क्रिटका ठूला टावर स्थापना भएका छन्। पूर्वी भेगमा होटल सञ्चालित छन्। तालमा डुङ्गा सञ्चालन रहेको छ। ताल क्षेत्रमा मानवीय क्रियाकलाप बढेसँगै शान्त वातावरण रुचाउने चराको सङ्ख्यामा निरन्तर घट्दै गएको उहाँ बताउनुहुन्छ। 

सो आरक्षमा सन् २०१९ मा १४ हजार ९८०, सन् २०२० मा २० हजार आठ सय, सन् २०२१ मा १२ हजार ६३, सन् २०२२ मा ११ हजार १८ चरा गणना भएको थियो। यस वर्ष ११ हजार २२२ चरा गणना भएको पन्छी संरक्षण सङ्घका बायोलोजिस्ट दिलीप चन्दले बताउनुभयो।

त्यस्तै रुपन्देहीको दानापुर तालमा पनि विदेशी पाहुना चरा हुलका हुल आउने गर्दथे। तालआसपासमा संरचना थपेर पिकनिक स्पटको रूपमा विकास गरिँदा जलेवा र माटीकोरे (किङ फिसर)को मात्र गतिविधि देखिने गरेको चन्दले बताउनुभयो। 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ मा रहेको बुड्ढीताललाई सौन्दर्यीकरण गर्नका लागि सङ्घीय सरकारले योजना छुट्याएको छ। ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि गरिएका निर्माण योजना पर्यावरणमैत्री नभएको बताइएको छ। 

ताल संरक्षणको नाममा निर्माणको काम सुरु भएसँगै चराको चहलपहल घटेको छ। जिल्लाको कृष्णनगर नगरपालिकाको अजिगरा ताल, विजयनगर गाउँपालिकाको शङ्करपुर तालमा समेत संरचना निर्माणका लागि डीपीआर तयार भइरहेको छ। ती तालको डीपीआर गर्दा वातावरणविज्ञको सहभागिता तथा सुझाव नलिएको आफूखुसी संरचना बन्ने काम भइरहेको गुनासो स्थानीयको छ।