कपिल ज्ञवाली
सिद्धार्थनगर, चैत ५ गते । युवालाई रोजगारीमा जोड्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वृत्ति मार्ग निर्देशन र रोजगार सूचना मेला आयोजना गरेको छ । मेला शनिबार एक दिन सञ्चालन भएको हो ।
मेलामा पाँच हजार जनाले अवलोकन गरेका छन् भने त्यसमध्ये तीन हजार जनाले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा)सहित फाराम भरेको तिलोत्तमा नगरपालिका–६ का वडाध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले जानकारी दिनुभयो ।
मङ्गलापुरस्थित रामजानकी मन्दिरको मैदानमा आयोजना गरिएको मेलामा स्थानीय युवाले आफ्नो व्यक्तिगत विवरण, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, फोटो र शैक्षिक तथा अनुभवका प्रमाणपत्रसहित फाराम भरेका हुन् ।
रोजगार मेलाले तिलोत्तमा नगर क्षेत्रका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने, सीप भएर पनि जागिर नपाएर विदेशिन बाध्य नागरिकलाई स्वदेशमै रोजगारीको अवसर दिन मेलाले सहयोग गरेको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो । सहभागिता र स्टलका लागि शुल्क राखिएको थिएन । रोजगार मेलामा रोजगारदाताका ४० भन्दा बढी स्टल रहेका थिए ।
“हामीले तिलोत्तमा नगर क्षेत्रमा रहेका रोजगारदाता तथा व्यावसायिक सङ्घसंस्थासँग सहकार्य गरेर यो मेला आयोजना गरेका हौँ । यो एउटा चौतारीजस्तो हो, यसका अनेकौँ फाइदा छन्, लाभ लिनुहोला,” मेला शुभारम्भ गर्दै प्रमुख खाणले भन्नुभयो ।
मेलामा रोजगारदाताले रोजगारी खोज्ने व्यक्तिलाई रुचि, क्षमता र चाहनाअनुसारका रोजगारीको ग्यारेन्टी गरेका छन् भने उनीहरूलाई करियर काउन्सिलिङसमेत गरेका थिए । मेलामा सीपमूलक तालिमको अवसरको जानकारी, वृत्ति परामर्शसम्बन्धी सेवा, सीपको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरबारे जानकारी गराइएको नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरीले बताउनुभयो ।
तिलोत्तमा नगर क्षेत्रका युवालाई स्वदेशमै रोजगारी दिने नीतिअनुरूप मेला गरिएको उहाँले बताउनुभयो । “औद्योगिक तथा व्यावसायिक क्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ति गरिनेछ भने आवश्यकताका आधारमा रोजगारी ग्यारेन्टी गरिनेछ,” उहाँले भन्नुभयो ।
युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका बेला जनशक्ति अभावको समस्या समाधानमा मेला सहयोगी बनेको नगरपालिकाका कार्यकारी अधिकृत नारायण अर्यालले बताउनुभयो । उहाँले सोचेभन्दा धेरै सहभागिता भएकाले कार्यक्रमको सार्थकता रहने बताउनुभयो ।
रोजगार मेलाले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदातालाई जोड्न पुलको काम गरेको सहभागीले बताए । मेलाका कारण रोजगारी मिल्ने आशा रहेको सहभागी तिलोत्तमा–२ का शङ्कर पौडेलले बताउनुभयो ।