• १६ चैत २०८०, शुक्रबार

दोखुका किसानलाई कृषि सामग्री वितरण

blog

दोखुका किसानलाई कृषि प्रयोजन सामग्री वितरण गर्दै वडाध्यक्ष क्षितिज सुनुवार । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका –८ दोखुका किसानलाई कृषि प्रयोजनका सामग्री वितरण गरिएको छ । कृषि क्षेत्रमा संलग्न स्थानीय किसानलाई टनेल, ड्रमलगायतका सामग्री वितरण गरिएको हो । 

फुङ्लिङ नगरपालिकाको चालु आर्थिक वर्षको कृषिलक्षित कार्यक्रममार्फत स्थानीय किसानलाई कृषि प्रयोजनका सामग्री वितरण गरिएको वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो । वडाध्यक्ष सुनुवारका अनुसार स्वयम् किसानको समेत लागत साझेदारीमा कृषि प्रयोजनका सामग्री वितरण गरिएको हो ।

लागत साझेदारीअनुसार किसानको २५ प्रतिशतसमेत पाँच लाख रुपियाँ बजेटले ३५ थान प्लास्टिक टनेल, पाँचसय लिटर क्षमताको २० थान ड्रम र केही पाइपगरी ६० घरधुरीलाई वितरण गरेको वडाध्यक्ष सुनुवारले बताउनुभयो । किसानको आवश्यकताअनुसार कोहीलाई टनेल, कोहीलाई ड्रम र पानीको पाइप वितरण गरिएको उहाँले बताउनुभयो ।

करिव ७५० घरधुरी बसोबास रहेको वडामा अधिकांश परिवार कृषिमा संलग्न रहेका छन् । वडाबासी किसानलाई सहयोग गर्ने र कृषिलाई प्रवर्धन गर्ने उद्देश्यले कृषिलक्षित कार्यक्रम छनोटगरी किसानलाई कृषि प्रयोजनका सामग्री वितरण गर्न थालेको वडाध्यक्ष सुनुवारले बताउनुभयो । उहाँले पाँच वर्षको आफ्नो कार्यकालभित्र वडाका सबै किसानलाई कृषि प्रयोजन सामग्री वितरण गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

दोखु गाउँ सदरमुकाम फुङ्लिङबजार नजिकको बस्ती हो । बजार नजिक रहेको गाउँ भएकाले यहाँका किसानले व्यावसायिक पेशाकै रुपमा फलफुल, तरकारीजन्य वस्तुलगायत कृषिउपजहरु उत्पादन गर्छन् । कृषिउपज वस्तुहरु बिक्री गरेरै हुने आम्दानीले घर व्यवहार चलाउन र आत्मनिर्भर बन्नमा सहयोग पुगिरहेको स्थानीय किसानको भनाइ छ ।