• २७ वैशाख २०८१, बिहिबार

तिलगङ्गामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

blog

संकेतिक तस्बिर

काठमाडौं, चैत ४ गते। काठमाडौं महानगरपालिका-९ तिलगङ्गामा ना ३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट शनिबार पैदल यात्रीको मृत्यु भएको छ। गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोक जलवीरे गाउँपालिका-९ घर भएर हाल काठमाडौंको सिनामङ्गल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा मृत्यु भएको हो।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौलाशाका प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिनुभयो। यसैबीच काठमाडौँ महानगरपालिका-१६ सोह्रखुट्टेचोक नजिकै सडकपेटीमा दोलखा चरिकोट घर भएकी ५५ वर्षीया गौरी भन्ने कमला गोले मृतावस्थामा फेला परेकी छिन्। मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागुऔषध खैरो हेरोइनसहित बर्दिया मधुवन गाउँपालिका-६ बस्ने २१ वर्षीय अर्जुन खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियाबाट काठमाडौं आउँदै गरेको भे १ ख ३५३१ नम्बरको बस जाँच गर्ने क्रममा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो। रासस