• १३ मंसिर २०८१, बिहिबार

सैनामैनाको चक्रपथ निर्माण पूरा हुन बाँकी

blog

सैनामैनाको चक्रपथ । फाेटाे– पविता पौडेल

पविता पौडेल

सैनामैना, चैत्र ४ गते । छ वर्ष अघि ५७ करोड रुपियाँको बजेटमा सुरु भएको सैनामैना नगरपालिकाको चक्रपथ अझै पूरा हुन सकेको छैन ।

वि.सं २०७८ असोज ३० सम्म सक्नेगरी सम्झौता भए पनि ठेकदारको लापरबाहीका कारण बाँकी १० प्रतिशत काम पूरा हुन नसकेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका प्रमुख लालु गिरी बताउनुहुन्छ । तत्कालीन सङ्घीय सरकारको नेतृत्वमा ३९ किलोमिटर कालोपत्रे गर्न सुरु भएको थियो ।

उक्त चक्रपथको काम बुटवल सडक डिभिजन कार्यालयले जिम्मा लिएर शर्मा एण्ड रमन जेभी कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो । बुटवल सडक डिभिजन, कार्यालयले ३९ करोडमा १३ किलोमिटर कालोपत्रे गरेपछि सो कामको जिम्मा प्रदेश सरकारलाई दिएको थियो ।

प्रदेश सरकारले २९ करोडमा २० किलोमिटर पिच गरेकोमा बाँकी १० प्रतिशत काम पूरा गर्न पुरानै ठेकदार उद्धव भट्टराईलाई दिने तयारी भएकाले सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका प्रमुख लालु गिरीले बताउनुभएको छ । 

सो नगरपालिकाका प्रमुख फडेन्द्र शर्माले चक्रपथ अन्तर्गत वडा नम्बर १० सालझन्डीमा थपिएको १४ किलोमिटर डिपिआर सुरु भएकाले बाँकी १० प्रतिशतको काम चाँडै सम्पन्न हुने बताउनुभयो ।