• १३ वैशाख २०८१, बिहिबार

जलविन्दु रोकथामका लागि सचेतना जरुरी

blog

नेपालगञ्जमा जलविन्दु सप्ताहको अन्तिम दिन शनिबार जनचेतनामुलक र्‍यालीमा सहभागी चिकित्सक, स्वास्थ्यकर्मी र विद्यार्थी । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, चैत ३ गते । चिकित्सकहरूले अन्धोपनबाट जोगिन नियमितरुपमा आँखाको परीक्षण गर्न सुझाव दिएका छन् । विश्व जलविन्दु सप्ताहको रूपमा शनिबार नेपालगञ्जमा भिजन आँखा अस्पतालले आयोजना गरेको सचेतनामूलक कार्यक्रममा नेत्ररोग विशेषत्रज्ञ डा. प्रचण्ड गौतमले जलविन्दुलाई अन्धोपनको प्रमुख कारण भएको बताउनुभयो । 

“जलविन्दु भएपछि करिब १० प्रतिशतलाई आजीवन अन्धोपन हुनसक्छ,” डा. गौतमले भन्नुभयो, “जलविन्दु जसलाई पनि हुन सक्ने भएकाले नियमित आँखा स्वास्थ्य परीक्षण गर्न अनिवार्य छ । उहाँले प्रत्येक वर्ष कम्तीमा एक पटक आँखाको परीक्षण गरेर जलविन्दु लगायत अन्य रोगको सङ्क्रमणबाट बच्न सजिलो हुने बताउनुभयो । 

चिकित्सकका अनुसार मानिसमा प्रायजसो ४० वर्ष पूरा भएपछि जलविन्दु रोग देखिने गर्दछ । नियमित आँखा जाँच गरेमा रोगको सङ्क्रमण देखिए पनि समयमै उपचार गरेमा निको हुने चिकित्सकको भनाइ छ । यसैगरी आँखामा रोग लागेपछि मात्रै मानिसहरू उपचारका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा सम्पर्कमा आउनेगरेको उहाँले बताउनुभयो । चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षणका लागि आमनागरिकमा सचेतना जरुरी रहेको बताउनुभयो । 

भिजन आँखा अस्पतालका प्रमुख समेत रहनुभएका डा. गौतमले जलविन्दु सप्ताह अन्तर्गत आम नागरिकमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

जनचेतनामूलक कार्यक्रम अन्तर्गत बीपी चोकस्थित भिजन आँखा अस्पतालबाट सुरु भएको र्‍याली गणेशमान चोक, भेरी अस्पताल, त्रिभुवन चोक, बीपी चोक हुँदै पुनः भिजन आँखा अस्पतालमा पुगेर समापन भएको थियो ।