छविलाल पाण्डे
बुटवल, चैत ४ गते । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताउनु भएको छ ।
उहाँले कांग्रेस सरकारमा सहभागी हुँदा कसले नेतृत्व गर्ने भन्ने विषयमा पार्टीमा छलफल हुने बताउनुभएको हो ।
नेपाल प्रेस युनियन, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले देशको आर्थिक कमजोर बन्दै गएकाले सरकार अव गम्भीर बन्नुपर्ने बेला आएको समेत बताउनुभयो ।
उहाँले मुलुकको व्यापार घाटा बढिरहेको, निर्यातको तुलनामा आयातमा भारी वृद्धि गरिबी र बेरोजगारी, दण्डहीनता र भष्ट्राचारको समस्या रहेकाले त्यसविरुद्ध लड्न सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।
नेता केसीले चालू खर्च घटाएर भए पनि मुलुकलाई जोगाउनु पर्ने बताउनुभयो ।
मुलुक श्रीलङ्काको बाटोमा नपुगेको बताउँदै उहाँले सरकारले आर्थिक अवस्था सुधार गर्नमा जोड दिनुभयो ।