• १५ चैत २०८०, बिहिबार

स्ववियू निर्वाचन स्थगन, केही विद्यार्थी निलम्बित

blog

विष्णुप्रसाद पोखरेल

दमक, चैत ४ गते । झापाको मेचीनगरस्थित काँकडभिट्टा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको विषयमा थप तनाव सिर्जना भएको छ । निर्वाचन गराउनु पर्ने दबाब र रोक्नु पर्ने दबाब सिर्जना भएपछि स्ववियू निर्वाचन नै स्थगन भएको छ ।

विद्यार्थीबीच एकआपसमा भिडन्त हुने अवस्था देखिएपछि सम्भावित क्षतिलाई ध्यान दिँदै स्ववियूको निर्वाचन कार्यक्रम स्थगित गरिएको क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताउनुभयो । आइतबार निर्वाचनको कार्यतालिका रहेको थियो । अन्तिम समयमा निर्वाचन स्थगन भएको हो ।

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू र नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघबीच निर्वाचनको विषयमा बारम्बार झडप भएको थियो । निर्वाचन गतिविधि रोक्न अनेरास्ववियूले क्याम्पसको बोर्ड चलाउने, मनोनयनपत्र च्यात्नेलगायतका कार्यहरू गरेको थियो ।

विद्यार्थी नेता निलम्बित

यसैबीच, क्याम्पसका शिक्षक एवम् कर्मचारीलाई अपमानजनक व्यवहार गर्ने, निर्वाचन सामग्री च्यात्ने, क्याम्पसको बोर्ड जलाउनेलगायतका अराजक गतिविधि गरेको भन्दै अनेरास्ववियूका दुई नेतालाई क्याम्पसले निलम्बन गरेको छ ।

क्याम्पस प्रमुख उप्रेतीका अनुसार शिक्षा सङ्काय दोस्रो वर्षमा अध्ययनरत छात्र सन्तोष धमला र शिक्षा सङ्काय चौँथो वर्षमा अध्ययनरत छात्र सन्देश पौडेललाई तीन महिना निलम्बन गर्ने निर्णय भएको हो । निर्वाचनलाई शान्तिपूर्ण रूपमा गराउन सरोकारवाला सबैसँग बारम्बार छलफल भए पनि सहमति बन्न नसकेपछि निर्वाचन स्थगन भएको बताइएको छ ।