• १३ मंसिर २०८१, बिहिबार

भारतबाट अवैध रूपमा ल्याइएका कुखुरा बरामद

blog

बरामद गरिएका अवैध कुखुरा नष्ट गरिंदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, चैत ३ गते । भारतबाट कुखुराको अवैध आयात नरोकिएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरुले सडकमा कुखुरा फालेर आन्दोलन गरेलगत्तै प्रहरीले कुखुराको अवैध तस्करी रोक्न कडाइ गरेको छ । कुखुराको अवैध आयातमा प्रहरीको समेत मिलेमतो रहेको आरोप लागेपछि प्रहरीले विभिन्न नाकाहरूमा कडाइ गर्दा ठुलो परिमाणमा अवैध कुखुरा बरामद हुन थालेका छन् । 

सो क्रममा भारतबाट अवैध तरिकाले भित्र्याएर नेपालगञ्ज १० शीतल नगरमा लुकाई राखेको एक लाख ५० हजारभन्दा बढी मूल्यको २१९ वटा कुखुरालाई बाँके प्रहरीले बरामद गरेको छ ।  

बाँकेका कुखुरापालक किसान र व्यवसायीको चर्को विरोध गरेलगत्तै प्रहरीले सुरु गरेको सर्च अप्रेसनको क्रममा ती कुखुरा बरामद गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताउनुभयो । 

सर्च अप्रेसन निरन्तर जारी रहेकाले अझै धेरै परिमाणमा त्यस्ता कुखुरा नियन्त्रणमा लिइने दाबी गर्नुभयो । बरामद गरिएका कुखुरालाई पशु क्वारेनटाइनको जिम्मामा लगाइएको र सो कार्यालयले ती सबै कुखुरा नष्ट गरेको जानकारी आएको बताउनुभयो । 

कुखुरा तस्करी हुने विभिन्न नाकाको बारेमा स्थानीय व्यवसायी र किसानले जानकारी गराएको हुँदा ती सबै नाकामा प्रहरीलाई विशेष रूपमा खटाइएको पनि एसपी राठौरले बताउनुभयो । 

नेपालगञ्जमा प्रतिबन्धित कुखुरा विक्री गर्ने पसललाई पनि कारबाही गर्न थालिएको जनाउँदै सो क्रममा गणेशमान चोकस्थित नेपाल फ्रेस हाउसलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । हरेक मासु व्यवसायीको पसलबाट बिल मागिने जनाउँदै बिल दिन नसक्नेलाई कारबाही गरिने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताउनुभयो । 

भारतबाट अबैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाउँदा करोडौँ लगानी जोखिममा पर्नुका साथै व्यवसाय पनि धराशायी भएको स्थानीय व्यवसायी र किसानको गुनासो छ । 

सो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको कुखुरा व्यवसायी सङ्घ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीले बताउनुभयो ।