• १३ मंसिर २०८१, बिहिबार

जनप्रतिनिधि र स्थानीयको निगरानीमा रुख कटान

blog

कपिलवस्तुको त्रिसुली सामुदायिक वनमा जनप्रतिनिधि र समुदायको निगरानीका रुख कटान गरिँदै । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, चैत ३ गते । कपिलवस्तुको बुद्धभुमि नगरपालिका –२ त्रिसुली सामुदायिक वनमा जनप्रतिनिधि र स्थानीयको रेखदेखमा कटान सुरु भएको छ । कार्य योजनाअनुसार हुने कटान गर्न तोकिएको रुखको कटान गर्न र पारदर्शिताको लागि जनप्रतिनिधि, सञ्चारकर्मी, वन कार्यालयका कर्मचारी र स्थानीयको उपस्थितिमा कटान सुरु गरिएको सामुदायिक वनका अध्यक्ष निलकुमार श्रेष्ठले बताउनुभयो ।

रुख कटान कार्यमा समुदायको प्रत्यक्ष संलग्नता गराउँदा अनावश्यक रुख कटान नहुने बुद्धभुमि नगरपालिका –२ नम्बर वडाका अध्यक्ष सुरजप्रताप राणाले बताउनुभयो । रुख कटान गर्दा उपभोक्ता समिति र वन कार्यालयका कर्मचारी मात्र समावेश हुँदा कपिलवस्तुको वनमा तोकिएको भन्दा बढी कटान भएको आवाज समेत उठ्नेगरेको थियो । 

त्रिसुली सामुदायिक वनले रुख कटान गर्दा समुदाय र जनप्रतिनिधिको निगरानीमा गराउँदै जिल्लामा नयाँ अभ्यास सुरु भएको गोरुसिङ्गे सब-डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत वसन्त थापाले बताउनुभयो । कटान गर्नुपर्ने रुखमा ट्याग लगाइएको र माउ रुखलाई सेतो घेरा लगाइ सङ्केत गरिएको छ । हरेक रुखको जीपीएस लिएको हुँदा अनावश्यक कटान भए थाहा हुने अधिकृत थापाले बताउनुभयो ।