• १३ वैशाख २०८१, बिहिबार

रुग्ण आयोजना समयमै सम्पन्न गर्ने प्रयासमा छौं : उपप्रधानमन्त्री श्रेष्ठ

blog

भैंसेपाटी सडकखण्डको अवलोकनमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ।तस्बिर : उपप्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, चैत ३ गते। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले रुग्ण आयोजना सम्पन्न गर्न आफूले प्रयास गरिरहेको बताउनुभएको छ। त्यसका लागि निर्माण व्यवसायीको काममा लगातार अनुगमन गरिरहेको उहाँको भनाइ छ। 

शुक्रबार काठमाडौं उपत्यकाका भैंसेपाटी, बौद्ध जोरपाटी, बालाजु बाइपासलगायतका क्षेत्रमा अनुगमन गरेपछि उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको छ। टोलीमा मन्त्रालय तथा विभागका अधिकारी पनि सहभागी हुनुहुन्थ्यो। 

आफू निर्देशन दिएर मात्रै नबस्ने उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले आयोजनाको प्रगतिका बारेमा पनि अनुगमन गरिरहने बताउनुभयो। निर्माण व्यवसायीलाई बोलाएर देशभरको रुग्ण आयोजना सम्पन्न गर्न निर्देशन दिएको छु। 

उपत्यकाका कतिपय क्षेत्रमा भत्किएका सडक बनाउने काममा केही प्रगति भएको श्रेष्ठको भनाइ छ। उहाँले कतिपय सडक निर्माणमा खानेपानी, विद्युत्‌लगायत अन्य कार्यालयको कारण ढिलाइ भइरहेको बताउनुभयो। त्यस्तै निर्माण व्यवसायीका कारण पनि सडक निर्माणमा ढिलाइ भइरहेको बताउनुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई छिटो सम्पन्न गर्न आफू प्रयत्नशील रहेको बताउनुभयो। 

 अदालतको आदेशका कारण पनि कतिपय काम रोकिएको भन्दै श्रेष्ठले अदालतको आदेशलाई हस्तक्षेप गर्न नसक्ने भए पनि त्यसमा अनुरोध गरेर अगाडि बढ्ने बताउनुभयो। 

गुणस्तरीय सडकमा हिँड्न पाउने जनताको अधिकारलाई सरकारले प्रत्याभूत गर्नुपर्ने उहाँको भनाइ छ। ‘‘भैंसेपाटी सडकको समस्या अब धेरै रहँदैन’’, उहाँले, ‘‘पाइप बिछ्याउने कार्य पूरा भएको छ। अब एक महिनामा सडक पिच हुनेछ।’’