घोराही समाचारदाता
घोराही, चैत ३ गते । दाङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन मिति नजिकिँदै गर्दा सरकारी तथा गैरसरकारी क्याम्पस/कलेजहरूमा निर्वाचन सरगर्मी बढेको छ ।
यही महिनाको ५ गते हुने स्ववियु निर्वाचनका क्रममा क्याम्पसहरूमा राजनीतिक चहलपहल बढेको छ । स्ववियु निर्वाचनका उम्मेदवारहरूले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।
जिल्लाका मुख्य क्याम्पसमा चुनावी प्रतिस्पर्धाको तयारी गरिरहेका विद्यार्थी सङ्गठनले निजी क्याम्पसमा भने सहमतिमै नेतृत्व चयन गर्न थालेका छन् । स्ववियु निर्वाचन हुने २६ क्याम्पसमध्ये १९ वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ । निजी क्याम्पसमा सहमति गरेका विद्यार्थी सङ्गठनले सरकारी तथा सामुदायिक क्याम्पसमा प्रतिस्पर्धा गर्दै छन् । यहाँका १९ कलेजमध्ये छवटामा नेविसङ्घ, पाँचवटामा अनेरास्ववियु, चारवटामा अनेरास्ववियु (क्रान्तिकारी) तीनवटामा अखिल (क्रान्तिकारी) विप्लव र एउटामा राप्रपानिकट विद्यार्थी सङ्घले नेतृत्व पाउने भएको छ ।
नेपाली कांग्रेसनिकट नेविसङ्घ, नेकपा (एमाले) अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)निकट अखिल एस, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, अनेरास्ववियु विद्यार्थी युनियन (छैटौँ), स्वतन्त्र विद्यार्थी समूह, अनेरास्ववियु (क्रान्तिकारी) वैद्य, अनेरास्ववियु (क्रान्तिकारी) संयुक्त र स्वतन्त्र प्रगतिशील विद्यार्थी समूह गरी ११ विद्यार्थी सङ्गठन तथा समूहले चुनावी प्रतिस्पर्धा भाग लिँदै छन् ।
सहमति अनुसार, नेविसङ्घले नेतृत्व पाउने कलेजहरूमा अम्बिकेश्वरी कलेज घोराही, पुरन्धारा क्याम्पस बबई, ज्ञानदीप कलेज तुलसीपुर, मेट्रो कलेज तुलसीपुर, स्वर्णिम कलेज लमही र पृथु टेक्निकल कलेज लमही रहेका छन् ।
अनेरास्ववियुले नेतृत्व पाउने कलेजहरूमा पृथ्वी जनता क्याम्पस दङ्गीशरण, दाङ भ्याली कलेज घोराही, स्पान कलेज घोराही, कलेज अफ लाइफ साइन्स तुलसीपुर र नोभेक्स कलेज तुलसीपुर छन् । यसैगरी अनेरास्ववियु (क्रान्तिकारी)ले नेतृत्व पाउने कलेजहरूमा पद्मोदय क्याम्पस घोराही, मार्क कलेज घोराही, जनता क्याम्पस गढवा र गोरखा कलेज तुलसीपुर छन् ।
अनेरास्ववियु (क्रान्तिकारी) विप्लवले नेतृत्व पाउने कलेजमा राप्ती शिक्षा क्याम्पस घोराही, सिद्धरत्ननाथ क्याम्पस नारायणपुर र ज्ञानसिन्धु कलेज घोराही, राप्रपा विद्यार्थी सङ्गठनले दीपशिखा कलेज घोराहीमा नेतृत्व पाउने भएको छ । अन्य सातवटा क्याम्पसमा भने विद्यार्थी सङ्गठनले प्रतिस्पर्धा गर्ने भएका छन् । महेन्द्र बहुमुखी क्याम्पस घोराही, राप्ती बबई क्याम्पस तुलसीपुर, ऐरावती बहुमुखी क्याम्पस भालुबाङ, देउखुरी बहुमुखी क्याम्पस लमही, केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डी, जनता संस्कृत विद्यापीठ बिजौरी र नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा भने चुनावी प्रतिस्पर्धा हुने भएको छ ।