• १३ मंसिर २०८१, बिहिबार

निर्माणको काम पुनः सुरु

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, चैत ३ गते । सडक निर्माणको ठेक्का लिएको साढे पाँच वर्षपछि पुनर्निर्माण कार्य सुरु भएको छ । बाँकेको खजुरास्थित दुई किलोमिटर सडक अलपत्र अवस्थामा थियो । स्थानीयको चौतर्फी दबाब र विरोधपछि सडक निर्माणको काम पुनः सुरु गरिएको हो । फोरलेनको उक्त सडक निर्माण गर्ने जिम्मा गजुरमुखी निर्माण सेवा इलामले पाएको थियो । 

स्थानीयको दबाबपछि अहिले सडक निर्माण कार्य सुरु गरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताउनुभयो । करिब १८ सय मिटर सडकको निर्माण पूरा नगरिँदा स्थानीयले निकै सास्ती भोग्नुपरेको थियो । 

खजुरा गाउँपालिकाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १८ सय मिटर फोरलेन सडक निर्माणको काम पाँच वर्षदेखि बन्द थियो । विभिन्न बहानामा पटक–पटक म्याद थप गरे पनि निर्माण कम्पनीले सडक निर्माण कार्यलाई अलपत्र पारेर छाडेको स्थानीय सतिश निरौलाले बताउनुभयो । “अहिले काम सुरु भएको छ,” उहाँले भन्नुभयो, “आशा छ अब बन्द हुने छैन ।”

सो सडक कालोपत्रे नहुँदा खजुराका स्थानीय धुलोले हैरान भएका छन् । फोरलेन सडकको सरफेस ट्रेसिङ उप्किएपछि स्थानीयले गुणस्तरमाथि शङ्का जनाउँदै सडक डिभिजन कार्यालयलाई जानकारीसमेत गराएका थिए । सडक निर्माणका लागि निर्माण कम्पनीले २१ करोड ४९ लाख रुपियाँ लागतमा २०७४ वैशाखमा ठेक्का सम्झौता गरेको थियो ।