मकवानपुर समाचारदाता
हेटौँडा, चैत ३ गते । हेटौँडा उपमहानगरपालिकाले हेटौँडाको मुख्य बजार क्षेत्रमा खुला रूपमा छरपस्ट देखिएका तारलाई भूमिगत गर्ने भएको छ। खुला रूपमा तानिएका तारका कारण बजार क्षेत्रको सौन्दर्यमा कमीसँगै सुरक्षा चुनौती बढेको भन्दै उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा विद्युत्, टेलिफोन, इन्टरनेटका तारलाई भूमिगत गर्ने निर्णय गरेको हो।
उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले उपमहानगरको यहाँ बसेको २०औँ कार्यपालिका बैठकले हेटौँडाको मुख्य बजार क्षेत्र वडा नं. १, २, ४, १० र ५ को केही भागका पोल हुँदै लगेका तारलाई भूमिगत गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार तार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणलाई कार्यपालिका बैठकको निर्णयसँगै सिफारिस पत्र पठाइने भएको छ।
बैठकले हेटौँडा उपमहानगरलाई उज्यालो सहरका रूपमा स्थापित गर्न नगरका विभिन्न स्थानमा ‘हाई मास्ट लाइट’ राख्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका १९ वटै वडालाई लक्षित गर्दै लाइट व्यवस्थापनका लागि विद्युत् प्राधिकरणसँग छलफल भइरहेको छ।
उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले मुख्य बजारसहित नगरका सबै वडालाई बत्ती व्यवस्थापनमा लाग्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार नगरका सबै वडामा आवश्यकताअनुसार अधिक क्षमता भएको बत्ती राख्न स्थान र सङ्ख्याबारे अध्ययन भइरहेको छ। अधिक क्षमताको विद्युतीय बत्ती जडान गर्न विद्युत् प्राधिकरणसँग सामान्य सहमति बनिसकेको र सहमतिअनुसार ४० प्रतिशत अनुदान प्राधिकरणले दिने र ६० प्रतिशत लगानी उपमहानगरले गर्ने भएको छ।
पहिलो चरणमा उपमहानगरपालिकाले हाई मास्ट लाइटका लागि ६० लाख रुपियाँ बजेट विनियोजन गरेको सहरी पूर्वाधार विकास महाशाखाका प्रमुख सत्यनारायण शाहले जानकारी दिनुभयो। पहिलो चरणमा २५ वटा १० देखि १६ मिटर उचाइ भएका लाइट माग गर्ने तयारी उपमहानगरपालिकाले गरेको बताउनुभयो।
यस्तै उपमहानगरपालिका प्रवेश गर्ने चार स्थानमा सार्वजनिक शौचालय निर्माण गरिने भएको छ। बैठकले नगरको पूर्वमा १८, पश्चिममा १९, दक्षिणमा १५ र उत्तरमा १ नम्बर वडा क्षेत्रको पायक पर्ने स्थानमा आवतजावत गर्नेका लागि सहज हुने गरी शौचालय निर्माण गर्ने निर्णय उपमहानगर कार्यपालिका बैठकले गरेको हो।
त्यस्तै न्यून आय भएका गरिब तथा विपन्न परिवारका ६६३ जनाको निःशुल्क स्वास्थ्य बीमा उपमहानगरपालिकाले गरिदिने भएको छ। नगरस्तरीय स्वास्थ्य बीमा लाभग्राही छनोट समितिको गत फागुन ११ गते बसेको बैठकले गरेको निर्णयबाट भएको सिफारिसअनुसार गरिब तथा विपन्न परिवारका ६६३ जनाको स्वास्थ्य बीमाबापतको रकम उपमहानगरले दिने निर्णय भएको हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्षसमेत रहनुभएका प्रवक्ता न्यौपानेले बताउनुभयो। उहाँका अनुसार बैठकले सार्वजनिक पूर्वाधार सम्पत्ति संरक्षण, उपमहानगरपालिकाको पाठ्यक्रम निर्माण तथा कार्यान्वयन कार्यविधि २०७७ संशोधन, बाटो सार्वजनिक, घर नक्सा अभिलेखीकरण तथा नियमित गर्ने, अनलाइन नक्सा पाससहित खेलमैदान निर्माणसम्बन्धी निर्णय गरेको छ।