काठमाडौं, चैत २ गते। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय उपराष्ट्रपति निर्वाचनको पूर्व तयारी सम्पन्न भएको जनाएको छ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरस्थित निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गरेर उपराष्ट्रपतिको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष मर्यादित एवम् विश्वसनीय बनाउन निर्वाचन प्रतिनिधि तथा मतदान प्रतिनिधिबीच छलफल भएको जानकारी दिनुभएको छ।
चैत ३ गते शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि सम्बन्धित पक्षसँग छलफल गरी मतदान केन्द्र निर्माण कार्य सम्पन्न भइसकेको उहाँको भनाइ छ।
यसका साथै उहाँले मतदान प्रतिनिधिको नियुक्ति एवम् मतगणनास्थल व्यवस्थापन लगायतका सम्पूर्ण पूर्व तयारी सम्पन्न भएको बताउनुभएको छ।
सङ्घीय संसद्का सदस्यले मतदान गर्ने केन्द्रमा अधिकृत कृष्णशरण लामिछाने र प्रदेश सभाका सदस्यले मतदान गर्ने केन्द्रमा अधिकृत मन्दिरा शाहीलाई मतदानस्थलमा खटाइएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।