• २८ मङ्सिर २०८२, आइतबार

नेपालमै पहिलो पटक नेपालगञ्जमा ‘नेपाल फोटोग्राफी समिट’ गरिँदै

blog

नेपाल फोटोग्राफी समिटको तयारी हुँदै । तस्विर– सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, चैत २ गते । नेपालमै पहिलो पटक नेपाल फोटोग्राफी समिट आगामी चैत २२ र २३ गते नेपालगञ्जमा आयोजना गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने सो फोटोग्राफी समिटमा देशभरबाट छानिएका १११ जना फोटो पत्रकार र फोटोग्राफीमा स्वतन्त्र ढङ्गले सक्रिय रहेकाहरुको सहभागी हुनेछन् ।


‘फोटोग्राफीमा संलग्न अघिल्लो पुस्ता र नयाँ पुस्तालाई जोड्ने सेतु हो नेपालगञ्ज फोटोग्राफी समिट’– समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भन्नुभयो, ‘रिलवाला क्यामेरा चलाएको पुस्तादेखि अहिलेको डिजिटल प्रविधि, गोप्रो हुँदै ड्रोन चलाइरहेका पुस्ता एकै थलोमा भेला गदैछौँ ।’ 


आयोजकका अनुसार नेपालगञ्ज फोटो फेस्टिबल अन्तर्गतको फोटो प्रतिस्पर्धामा देशभरबाट फोटोहरु पनि आव्हान गरिएको छ । हरेक विधाका उत्कृष्ट फोटोलाई पुरस्कृत गरिनेछ भने सर्वोत्कृष्ट फोटोलाई वर्ष फोटो उपाधिसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ  । 


समाचार, दैनिक जीवन, पर्यटन, वाइल्ड लाइफ, कृषि, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, नेपाल स्माइल गरी नौ विधा छन् । यी सबै विधाबाट छानिएका १५१ फोटो प्रदर्शनीमा राखिने अन्तरालले जनाएको छ । फोटो छनोट गर्न वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ । सदस्यहरुमा फोटो पत्रकार क्लब (पिजे क्लब)का अध्यक्ष श्रुति श्रेष्ठ र वरिष्ठ फोटोग्राफर रमेश मल्ल रहनुभएको छ ।


यसैगरी, नेपालगञ्ज फोटो फेस्टिवलमा बाँके जिल्लाको विशेष फोटो प्रदर्शनी हुनेछ । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, ६ वटा गाउँपालिका (राप्तीसोनारी, नरैनापुर, डुडुवा, बैजनाथ, खजुरा, जानकी)का पर्यटकीय स्थल, कला संस्कृति, स्थानीय मौलिक परिकार, भेषभूषा र जीवनशैली झल्कने फोटोहरु प्रदर्शनीमा राखिनेछ ।