• १४ वैशाख २०८१, शुक्रबार

शिवनाथमा लुम्पी भाइरलको सङ्क्रमण

blog

शिवनाथका पशुचौपायामा फैलिएको लुम्पी भाइरल रोग ।

गोकर्ण दयाल 

बैतडी, चैत २ गते । बैतडीको शिवनाथ गाउँपालिकाका पशु चौपायामा लुम्पी भाइरल फैलिएको छ । शिवनाथ–२, जोलापानी  बस्कोटी बस्तीका गाई,  गोरुमा ‘लुम्पी स्किन डिजिज भाइरल’ रोग फैलिएको गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउदले जानकारी दिनुभयो । 

गाउँपालिकाको जोलापानी लगायतका गाउँमा अहिलेसम्म ४० वटा गाई/गोरुमा रोगको सङ्क्रमण फैलिएको उहाँले बताउनुभयो । रोग नियन्त्रण गर्न नेपालमा कुनै खोप नभएका कारण सामान्य प्राथमिक उपचार थालिए पनि रोग नियन्त्रण हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘लुम्पी स्किन डिजिज भाइरलबाट गाई÷गोरु बढी सङ्क्रमित भएका छन् । यो रोग लाग्दा पशुलाई ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिँगान काढ्ने, खुट्टाका जोर्नी फुल्ने, दुहुनाे गाईले दूध कम दिने र गर्भिर्णी पशु तुहिने समस्या देखा परेको छ ।’ 

रोगको सङ्क्रमण फैलिन नदिन सङ्क्रमित पशुलाई एन्टिबायोटिक औषधि खुवाएर प्राथमिक उपचार सुरु गरिएको छ । सामान्य एन्टिबायोटिक दिने काम सुरु भए पनि रोग नियन्त्रण हुन नसकेको शिवनाथ गाउँपालिकाको पशु शाखाले जनाएको छ । 

यो रोग झिँगा, लामखुट्टे र कीर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट रोग फैलिने भएकाले किसानले सजगता अपनाउनुपर्ने पशु शाखा प्रमुख साउदले बताउनुभयो । 

रोग नियन्त्रणका लागि बैतडीमा कुनै खोप नभएको पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका डा. विशाल पाठकले बताउनुभयो । 

डा. पाठकले लुम्पी भाइरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको बताउनुभयो । त्यसपछि चितवनमा देखापरेको लुम्पी रोग बैतडीको शिवनाथमा पनि देखापरेको बताउनुभयो । 

रोग नियन्त्रण गर्न किसानले भुसुना, कीरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो ।